काठमाडौं,२० भदौ । भारतमा रुसले तेल आपूर्ति जारी राख्ने भएको छ । रुसी राजदूत डेनिस अलिपोभले भारतको ऊर्जा आवश्यकता पूरागर्न रुस प्रतिबद्ध रहेको भारतका लागि बताउनुभएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उहाँले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जनागर्ने रणनीतिभन्दै आलोचना गर्नुभएको छ । एएनआईसँग कुरागर्दै उहाँले भारतले आफ्नो राष्ट्रिय हितअनुसार ऊर्जा खरिदसम्बन्धी निर्णय गर्न सक्ने बताउनुभयो । उहाँले हामी भारतलाई आवश्यक पर्ने जति तेल आपूर्ति गर्न तयार हुनेछौँ । प्रतिबन्ध र शुल्क लगाउनेहरुले इमानदार सहकार्यको सट्टा दबाबको रणनीति अपनाएका छन् भन्नुभएको छ । माध्यमिक प्रतिबन्धले रुसी तेलसँग कारोबारगर्ने तेश्रो मुलुकका रिफाइनरी, ढुवानी कम्पनी तथा बैंकलाई समेत प्रभावित पार्नसक्ने उहाँको भनाइ थियो ।

यस्ता उपायले भारतलाई प्रतिस्पर्धी मूल्यमा रुसी तेल खरिदगर्नबाट रोक्न खोजिएको उहाँले आरोप लगाउनुभयो । रुसी तेललाई विश्व बजारबाट अलगगर्ने प्रयास सम्भव नभएको दाबीगर्दै अलिपोभले ऊर्जा बजारले रुसी कच्चा तेलको बहिष्कार धान्न नसक्ने बताउनुभयो । उहाँकाअनुसार रुसी तेल भारतलगायत अन्य मुलुकका लागि बजारमा उपलब्ध भइरहनेछ । राजदूतको भनाइ अमेरिका र युरोपेली संघ (इयु) लगायत पश्चिमी मुलुकले रुसी ऊर्जा कारोबारमा माध्यमिक प्रतिबन्ध विस्तार गरिरहेका बेला आएको हो ।