काठमाडौं,२५ भदौ । एमाले अध्यक्ष केपी ओलीले बालकोटस्थित क्षतिग्रस्त निवासको हिजो अवलोकन गर्नुका साथै आगजनी गर्नेहरुको निन्दा गर्नुभएको छ । गतबर्षको जेन्जी आन्दोलनकाक्रममा भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरिएको थियो । गतवर्ष भदौमा आफ्नै निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकनकागर्न हिजो त्यहा जानुभएको थियो । त्यसक्रममा बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीकी पत्नी राधिका शाक्यको अनुभूति पुस्तक सपनाको भग्नावशेषको विमोचन पनि गरिएको थियो । लेखिका शाक्यले जनताको मायाका कारण आफूहरु जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि बिभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको बताउनु भएको थियो ।

शाक्यले आफूहरु कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी पनि गर्नुभएको थियो । पुस्तकमा ०८२ भदौ २३ गतेदेखि ०८३ भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबीच आफूहरुले भोगेको अवस्थालाई समेटिएको छ । आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकनगर्न घटनास्थलमा पुग्नुभएका ओलीले सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउनुभएको थियो । गुरुङले गत २३ गते पुराना राजनीतिक दलहरुलाई सुध्रिन चेतावनी दिएको भनिएको थियो ।

गृहमन्त्रीले ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ । चढिहाल्यौभने पनि जाक्दिन्छौँ’ भन्ने अभिव्यक्ति दिएपछि सर्बत्र बिरोध भएको थियो । गुरुङको उक्त अभिव्यक्तिबारे ओलीले हामीले प्रशंसा गरिदिनुपर्ने हो र ? यस्ता केटाकेटीहरुधेरै आए, धेरै गए भन्नुभएको थियो । अध्यक्ष ओलीले भदौ २४ गतेको घटनालाई देशका लागि कालो दिन भएको बताउनुभएको थियो । उक्त दिनको विध्वंसका कारण देश २५ वर्षभन्दा बढी पछाडि धकेलिएको उहाँको भनाइ थियो ।