
काठमाडौं,२५ भदौ । प्रतिनिधिसभाको हिजोको बैठकमा हालसम्म गतबर्ष चैत २४ गते भएको बिध्वंशको जिम्मा लिने कोही पनि नभएकोभन्दै चिन्ता ब्यक्त गरिएको थियो । त्यसक्रममा नेकपाकी सांसद बलावती शर्माले उक्त प्रश्न उठाउनु भएको हो । उहाँले ऐतिहासिक धरोहरदेखि निजी सम्पति जलाउनुको उद्देश्य पनि सोध्नुभएको थियो । उहाँले २४ गते ऐतिहासिक धरोहर ध्वस्तगर्ने र सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी, लुटपाट र विध्वसंको उद्देश्य के थियो ? यसको जिम्मा कसले लिने ? सत्तारोहणको भ¥याङमात्रै थियो अन्य कुनै ? भन्ने लगायतका गंभिर प्रश्नहरु उठाउनु भएको थियो । उहाँले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयनको माग पनि गर्नुभएको थियो ।
नेकपाकी सचेतक पार्वती बिकले सयौंवर्ष लगाएर बनाएका संरचना ध्वस्त बनाइएकोमा चिन्ता ब्यक्त गर्नुभएको थियो । उहाँले सिंहदरबारसहितका संरचना जलाउने दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गर्नुभएको थियो । उहाँले २४ गते साँच्चिकै सिंहदरबार जलाउने दोषी को थियो ? जेनजी आन्दोलन पक्षधरले हामी जिम्मा लिन सक्दैनौं भनिराखेको स्थिति छ भन्नुभएको थियो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि जेनजीका माग र मुद्धा आफ्नै सरकारले सम्बोधनगर्न नसकेकामा आलोचना गर्नुभएको थियो । रास्वपाकी सांसद रचना खतिवडाले प्रधानमन्त्री वालेन्द्र शाह जेनजी आन्दोलनको स्मृतिको कार्यक्रम नगएकोमा असन्तुष्टि जनाउनुभएको थियो ।