
काठमाडौं,२५ भदौ । राष्ट्रियसभाका सांसदहरुले भोटेकोशीको बाढीबाट प्रभावितहरुलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन माग गर्नुभएको छ । राष्ट्रियसभाको हिजोको बैठकको विशेष समयमा सांसदहरुले उक्त माग गर्नुभएको हो । त्यसक्रममा सांसद मोहम्मद खालिदले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । उहाँले प्रभावित नागरिकका लागि रोजगारीको व्यवस्था तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक रहेको बताउनु भएको थियो । खालिदले मुलुकमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको उल्लेखगर्दै दैनिक करिब एकलाख सिलिन्डरको माग रहेकामा ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको बताउनुभएको थियो ।
दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेकोभन्दै बजार व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उहाँले जोड दिनुभएको थियो । सांसद तुलप्रसाद विश्वकर्माले रसुवा बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभएको थियो । बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचारको उचित व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
सांसद ललितजंग शाहीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएकोभन्दै जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य रहे पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोग्नुपरेको बताउनुभएको थियो । सांसद रेणु चन्दले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा केन्द्र र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेकोमा दुःख व्यक्त गर्नुभएको थियो । सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय संकटको समयमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको थियो । विपद् प्रभावितको उद्धार तथा सहयोगका लागि राज्यका सबै निकाय र नागरिक एकताबद्ध भएर अघिबढ्नुपर्ने उहाँको भनाइ थियो । सांसद गीता देवकोटाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समयमा उद्धार हुननसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभएको थियो ।