काठमाडौं,४ असार । नेपाल उद्योग वाणिज्य महासंघले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ । भारतीय चिया बोर्डले मे १ देखि लागूगरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिज र प्रत्येक खेपमा अनिवार्य परीक्षणगर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदाभएको महासंघले जनाएको छ । नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रुपमा स्थापित रहेको उल्लेखगर्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजरगर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ । नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो सतम्भकोरुपमा रहेको जानकारीदिँदै महासंघले वार्षिक करिब १२ अर्बदेखि १४ अर्ब बराबरको कारोबारगर्दै आएको स्पष्टपारेको छ ।

त्यस्तै वार्षिक पाँच अर्बभन्दा बढीको चिया भारततर्फ निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ । चिया उद्योगमा ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदानगरेको छ । राज्यलाई वार्षिक करिब एकअर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेकामा महासंघले चिन्ता व्यक्त गरेको छ । चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान, मजदुर र उद्यमीको भविष्यसँग जोडिएको यस संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक तवरले समाधानगर्न महासंघले सरकारसँग माग गरेको छ । रासस