काठमाडौं,४ असार । नेपाली कम्युनिष्ट पार्टी फेरी बिभाजनको संघारमा पुगेको छभने सो पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपाललाई हटाउन माग भएको छ । सो पार्टीका नेता झलनाथ खनालले एक बक्तब्य प्रकाशितगरी उपरोक्त माग गर्नुभएको छ । दाहाल र नेपालले पद त्याग नगरे नेता खनाल पार्टीबाट अलग हुने बताइएको छ । करिव तीनदर्जन पार्टी र समूह मिलेर बनेको भनिएको सो पार्टीमा शुरुदेखि नै नेतृत्वको बिरोध जारी छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाललाई एक असन्तुष्टि पत्र लेख्दै विद्रोहको शुरुवात गर्नुभएको छ ।

नेता खनालले संयोजक दाहाललाई लेखेको ३६ बुँदे असन्तुष्टिपत्रमा नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने बताउनुभएको छ । नेता खनालले संयोजक दाहाललाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठनगर्न नसकेको गम्भीर आरोप लगाउनुभएको छ । पार्टीको अन्तरिम विधानलाई सारसंग्रहवादी खिचडी विधानको संज्ञादिँदै उहाँले त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गर्नुभएको छ । खनालले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण पूरानभएको, निर्वाचनमा पार्टीले अपेक्षा विपरीत शर्मनाक पराजय भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वलेगर्न नसकेको भन्दै नेतृत्वमाथि बिभिन्न प्रश्न गर्नुभएको छ ।

उहाँले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दैगएको उल्लेखगर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दैगएको बताउनुभएको छ । उहाँले संयोजक दाहाल र सहसंयोजक नेपाललाई राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयनगर्न माग पनि गर्नुभएको छ । खनालले दाहाललाई लेखेको पत्रमा कहिलेकाहीँ सानो कमजोरीले सिंगो संरचना र उपलब्धिनै दुर्घटनामा पर्नसक्ने चेतावनीदिँदै त्यस्तो गल्ती संयोजक दाहाल आफैँले गरेको भन्दै नेकपा कालको घटना स्मरण समेत गराउनुभएको छ ।