काठमाडौं,४ असार । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले अदालतमा आत्मसमर्पण गरेपछि उहाँलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उहाँ हिजो बुधबार आफै सर्वोच्च अदालतमा उपस्थित हुनुभएको थियो । व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या मुद्दामा सर्वोच्च अदालतले उहाँलाई १० वर्ष कैदसजाय हुने फैसलागरेको थियो । गत जेठ २८ मा न्यायाधीशहरु डा.नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाले पुनरावलोकन सुनुवाइगर्दै त्यसअघि भएको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोक्नुभएको थियो । कालिकोटको माल्कोट घर भएर काठमाडौं बस्दैआएका बटालालाई सर्वोच्च अदालत प्रशासनको मुद्दा तथा रिट महाशाखाले कारागार कार्यालय डिल्लीबजार चलान गरेको छ ।

फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा कुने कानूनी व्यवस्था छ । अब बटालाले २० प्रतिशत सजाय छुट पाउने सर्वोच्चका अधिकृतहरुको भनाई छ । ०६८ असार ६ मा काठमाडौंबाट अपहरण गरेर व्यापारी रामहरि श्रेष्ठलाई चितवनमा लगेर हत्या गरेको कसुरमा बटाला दोषी ठहर हुनुभएको हो । बटाला तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमान्डर भएको बताइन्छ ।