
काठमाडौं,४ असार । परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तारगर्ने दृष्टिले फलदायी भएको जनाएको छ । चारदिने औपचारिक भ्रमण सम्पन्न गरी गएराति स्वदेश फर्किएका मन्त्री खनालले चीन बसाइका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता, लगानी प्रवद्र्धन, आर्थिक कूटनीति तथा जनस्तरको सम्बन्ध विस्तारका विविध कार्यक्रममा सहभागिता जनाएका थिए । मन्त्रालयले जारीगरेको प्रेस विज्ञप्तिमा भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ । चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनाल र विदेशमन्त्री वाङबीच गत सोमबार भएको द्विपक्षीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षबारे गहन तथा उपलब्धिमूलक छलफल भएको मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता पुनः दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको थियो । चिनियाँ पक्षलेभने नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताप्रति आफ्नो समर्थन दोहो¥याउँदै सुशासन र आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारका प्राथमिकताप्रति पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेको मन्त्रालयको भनाइ छ ।
दुवै पक्षबिच पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य विस्तारगर्ने विषयमासमेत छलफल भएको थियो । यसअघि भएका द्विपक्षीय सहमति र परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने तथा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा साझा हितका विषयमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको मन्त्रालयले जनाएको छ । भ्रमणकाक्रममा मन्त्री खनालले सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढगर्ने, द्विपक्षीय सहयोग विस्तारगर्ने तथा राजनीतिक दलहरुबिच सम्पर्क र सहकार्य बढाउने विषयमा विचार आदान–प्रदान भएको थियो । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागीहुँदै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीगर्न आह्वान गर्नुभएको थियो ।
उनले नेपालमा लगानी तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानीका अवसरबारे जानकारी गराउनुभएको थियो । भ्रमणकाक्रममा उहाँले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गर्नुकासाथै दूतावासका अधिकारीहरुलाई नेपाल–चीन सम्बन्धलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन तथा नेपाली नागरिकको हित संरक्षणमा केन्द्रित हुन निर्देशन दिनुभएको थियो । मन्त्री खनालले चीनका विभिन्न अनुसन्धान तथा प्रविधि संस्थाको अवलोकनसमेत गर्नुभएको थियो । उहाँले चाइनिज एकेडेमी अफ साइन्स अन्तर्गतको इन्ष्टिच्यूट अफ टिबेटियन प्लाटो रिसर्च तथा बेइजिङस्थित झोङग्वानछुन विज्ञान पार्कको भ्रमणगरी विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
त्यसैगरी नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको बेइजिङस्थित ऐतिहासिक श्वेत स्तूपको अवलोकनगर्दै उनले नेपाल–चीनबिचको सांस्कृतिक सम्बन्धको महत्वबारे चर्चा गर्नुभएको थियो । रासस