अर्बपतिहरूको सानो संख्याले अमेरिकाको राष्ट्रपतीय निर्वाचनको नतिजा प्रभावित गर्न सघाउने देखिएको छ। किनकि आफूले चाहेको उम्मेदवार जिताउन कयौँ धनाढ्यहरूले करोडौँ करोड डलर खर्च गरिरहेका छन्।

चुनावको दिन नजिकिँदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बराबरीको टक्कर देखिँदैछ। यो चुनाव इतिहासकै सबैभन्दा महँगो हुने सँघारमा छ। अक्टोबरको मध्यसम्ममा यी उम्मेदवार र तिनका सहयोगी समूहहरूले ३.८ अर्ब डलरभन्दा बढी रकम उठाइसकेका थिए।

यो चुनावमा उठेकोमध्ये १८ प्रतिशत अर्थात् ६९.५ करोड डलर अर्बपतिहरूले दिएका हुन्।

खासगरी ट्रम्प अर्बपतिहरूमा निर्भर छन्। उनको चुनावी अभियान र सहयोगी समूहले उठाएको सम्पूर्ण रकममध्ये एक तिहाइ अर्बपतिहरूले दिएका हुन्। जबकि ह्यारिसले उठाएको रकममध्ये ६ प्रतिशत मात्र अर्बपतिहरूबाट आएको हो।

जनवरी २०२३ देखि २०२४ अक्टोबरको मध्यसम्म बाइडेन–ह्यारिसले २.२ अर्ब डलर उठाएका छन् भने ट्रम्पले १.७ अर्ब डलर।

समग्रमा फोर्ब्सको सूचीमा रहेका ८ सय अमेरिकी अर्बपतिमध्ये १४४ जनाले चुनावी नतिजा प्रभावित गर्न आफ्नो सम्पत्तिको उपयोग गरेका छन्।

सन् २०१० मा सर्वोच्च अदालतले उम्मेदवारको चुनावी अभियानभन्दा अलग रहने सुपर पोलिटिकल एक्सन ग्रुप अर्थात् सुपर प्याकहरूलाई व्यक्तिले असीमित रकम दिनसक्ने फैसलापछि चुनावी राजनीतिमा ठूलो रकम भित्रिन थालेको थियो। यसमा पनि कतिपय धनाढ्यले उम्मेदवारनिकट गैरनाफामूलक संस्थाहरूलाई दिएको रकम देखिँदैन।

न्युयोर्क टाइम्सका अनुसार माइक्रोफ्टका संस्थापक बिल गेट्सले निजी रूपमा आफूले ह्यारिस समर्थक गैरनाफामूलक संस्थालाई ५ करोड डलर दिएको बताएका छन्। तर, सो रकम अहिलेसम्म कुनै पनि सार्वजनिक वित्तीय घोषणाहरूमा देखिएको छैन।

अर्बपतिहरूले करिब १२।७ करोड डलर ह्यारिसलाई दिएका छन्। उनका मुख्य दाता यी हुन्ः

डस्टिन मस्कोविच
डस्टिन मस्कोविचले हार्वर्ड कलेजका सहपाठी तथा रुममेट मार्क जकरबर्गसँग मिलेर फेसबुक स्थापना गरेका थिए। पछि उनले म्यानेजमेन्ट सफ्टवेयर कम्पनी असना स्थापना गरे।

उनको जम्मा सम्पत्ति १५ अर्ब डलर छ। ह्यारिस समर्थक सुपरप्याक फ्युचर फरवार्डलाई उनले ३.८ करोड डलर दिएका छन्। त्यस्तै अन्य समूहहरूलाई १० डलरभन्दा बढी दिएका छन्।

उनी इलोन मस्क र उनको स्वचालित कारसम्बन्धी दाबीहरूको मुखर आलोचक पनि हुन्।

रिड हफम्यान
इलोन मस्क, पडकास्ट होस्ट डेविड स्याक्स, भेन्चर क्यापिटलिस्ट किथ राबोयजस्ता पेपल माफिया भनेर चिनिने पेपलका संस्थापक तथा उच्च पदस्थहरूमध्ये सबैले ट्रम्पको समर्थन गर्दा रिड हफम्यान भने ह्यारिसको पक्षमा लागेका छन्।

उनले फ्युचर फरवार्डलाई १ करोड डलर दिएका छन् भने ट्रम्पको आलोचना गर्ने अर्को सुपरप्याकलाई ६० लाख डलर।

हफम्यानको जम्मा सम्पत्ति २।५ अर्ब डलर छ। उनले ट्रम्पको आर्थिक नीतिको आलोचना गरेका छन्।

उनी माइक्रोसफ्टका बोर्ड सदस्य पनि हुन्।

माइकल ब्लुमबर्ग
न्युयोर्कका पूर्वमेयर ८२ वर्षीय माइकल ब्लुमबर्गको सम्पत्ति १०४ अर्बभन्दा बढी छ। उनी सधैँ ट्रम्पको आलोचक रहँदै आएका छन्।

२०२० को चुनावमा आफैँ उठ्ने भनेर उनले १ अर्ब डलर खर्च गरेका थिए र आफू पछि हटेपछि बाइडेनलाई जिताउन करोडौँ दिएका थिए।

गलत व्यावसायिक विवरण पेस गरेकोमा ट्रम्प दोषी ठहर भएकै दिन उनले फ्युचर फरवार्डलाई १।९ करोड डलर दिएका थिए।

त्यसयता सार्वजनिक रूपमा पैसा नदिए पनि उनले र गेट्सले गोप्य रूपमा करोडौँ दान दिने सल्लाह गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

ट्रम्पका दाता
ट्रम्पले जम्मा गरेको रकममध्ये ३४ प्रतिशत अर्थात् करिब ५७ करोड डलर अर्बपतिहरूले दिएका हुन्। त्यसमध्ये ४३ करोड डलर जम्मा चारजना दाताबाट आएको हो।

टिम मेलोन
यो चुनावको सबैभन्दा ठूला दातामध्ये पर्छन् टिम मेलोन। उनले ट्रम्पको सुपर प्याक मेक अमेरिका ग्रेट अगेन इंकलाई १५ करोड डलर दिएका छन्। त्यो भनेको ट्रम्पले उठाएको जम्मा रकमको ४५ प्रतिशत हो।

८२ वर्षीय मेलोन अमेरिकाको प्रतिष्ठिति ब्यांकिङ परिवारका सदस्य हुन्। साथै, ट्रम्पवरिपरि रहेका अर्बपतिमध्ये सबैभन्दा कम चर्चित व्यक्ति पनि।

२०२० मा पनि उनले टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटलाई ५ करोड डलर दिएका थिए।

इलोन मस्क
विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले झण्डै १२ करोड डलर ट्रम्प समर्थक अमेरिका प्याकलाई दिएका छन्। सो रकम बढ्ने देखिन्छ।

उनले स्विङ स्टेटहरूमा दर्ता भएका मतदातालाई एउटा याचिकामा हस्ताक्षर गरेबापत ४७ डलर प्रतिव्यक्ति दिएका छन् भने केहीलाई १० लाख डलर पनि दिएका छन्। जुन अवैध रहेको न्याय मन्त्रालयको भनाइ छ।

टेस्ला, स्पेसएक्स, एक्सएआई र एक्सजस्ता कम्पनीको नेतृत्व गर्दागर्दै पनि मस्कले यो चुनावमा अत्यधिक समय खर्चेका छन्। उनी चुनावी सभाहरूमा पुगेका छन् र सामाजिक सञ्जालमा पनि नियमित पोस्ट गरिरहेका छन्।

ट्रम्पले जिते सरकारले आफ्ना कम्पनीहरूलाई गर्ने व्यवहारमा प्रभावित गर्न सकिने उनको आकलन छ। उनका कम्पनीले यसअघि नै अर्बौं डलरको ठेक्का पाइसकेका छन्।

मिरियम एडलसन
दिवंगत सेल्डन एडल्सनकी पत्नी एडल्सनले ट्रम्प समर्थक प्रिजर्भ अमेरिका प्याकलाई १० करोड डलर दिएकी छन्।

लस भेगास स्यान्ड्स क्यासिनो, लस भेगास रिभ्यु जर्नल र इजरायल हायोम पत्रिकाकी मालिक्नी उनको सम्पत्ति ३४ अर्ब डलर छ।

२०१८ मा ट्रम्पले उनलाई प्रेसिडेन्सियल अवार्ड दिएका थिए।

लिज युलाइन र डिक युलाइन
युलाइन सिपिङ कम्पनीका संस्थापक लिज र डिकले ट्रम्प समर्थक सुपरप्याकहरूलाई करिब ८ करोड डलर रकम दिएका छन्।

अमेरिकाले लाल सागरमा हुतीहरूको आक्रमण रोक्न नसकेकोमा लिजले निराशा व्यक्त गरेकी थिइन्।

तर, ट्रम्पले मानिसहरूसँग गरेको व्यवहार भने आफूलाई चित्त नबुझेको उनको भनाइ छ।

(फाइनान्सियल टाइम्सबाट)