काठमाडौं,५ जेठ । आगामी १५ गते गणतन्त्र दिवश मनाउन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिको बैठकमै यस पटक बिवाद भएको छ । राजावादीहरुले सोही दिनबाट आन्दोलन शुरुगर्न लागेकाले राजनीतिक क्षेत्रमा भिडन्त हुनसक्ने आशंकाहरु ब्यक्त हुनथालेका छन् । आगामी १५ गतेको मूल समारोह समितिको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह उपस्थित नभएपछि आपत्ति जनाउनु भएको छ । उहाँले बैठकमा काठमाडौंकै जनप्रतिनिधि अनुपस्थित हुनु राम्रो नभएको बताउनु भएको थियो । उहाँले आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ भन्नुभयो । काठमाडौंमा आयोजना हुने गणतन्त्र दिवसको मूल कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख पदेन सदस्य हुने प्रचलन रहँदै आएको छ । यसअघि कसैले पनि यस्तो दिवश बहिष्कार गरेका थिएनन् । प्रधानमन्त्रि ओलीले यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरु पटक, पटक अनुपस्थित हुने स्थिति अन्त्यगर्न निर्देशन समेत दिनुभएको थियो । बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरु छलफलसहित पारित भएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहने ब्यवस्था छ । आज भएको बैठकले आगामी १५ गतेको उक्त दिवसका लागि १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरेको छ । त्यसैगरी विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तयगरिएको थाहाभएको छ ।