काठमाडौं । नेपाली कांग्रेस र एमालेले संसदमा आफ्नो शक्ति प्रदर्शनको तयारी थालेको देखिएको छ । उनीहरुले सरकारको नीति तथा कार्यक्रम संक्षिप्तरुपमा ल्याएका छन्भने त्यसलाई एकसाताभित्र पारित गराएर छोटकरीमा बजेट बनाउने प्रयास गरिरहेको देखिएको छ । त्यसैंका लागि हिजो सत्तारुढ नेपाली कांग्रेस र एमालेको संसदीय दलको बैठक बसेको थियो । दुबै पार्टीले आआफ्ना सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमकाबारेमा संक्षिप्त सकारात्मक प्रतिक्रिया दिन र एकढिक्का भएर पारित गराउन निर्देशन दिएको थाहाभएको छ । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक बर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम गत शुक्रबारनै टेबुल भैसकेको छ । सभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । त्यसैगरी बैठकले राष्ट्रपतिबाट सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन पनि गरिसकेको छ । सभामुख देवराज घिमिरेले राख्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । अब सरकारको नीति तथा कार्यक्रममाथिको छलफल भोली २२ गतेबाट प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैतिर एकसाथ शुरुहुने भएको छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छदिन र राष्ट्रियसभामा दुई दिन छलफल हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाका सभामुख घिमिरेले गत शुक्रबार बसेको बैठकमै बैशाख २२– २६ मा छलफल हुने र २८ गते सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तयगरेको जानकारी दिनुभएको थियो । छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने भएको छ । छलफलमा भाग लिने सांसदहरुको नाम सम्बन्धित दलका पदाधिकारीले संसद बैठक प्रारम्भ हुनुभन्दा एकघण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधिसभा संसद सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराउनुपर्ने ब्यवस्था छ । सभामुख घिमिरेले हिजो र आज बिहान ११ बजेदेखि दिनको तीनबजेभित्र कार्यव्यवस्था शाखामा संशोधनको प्रस्ताव दिनसकिने समय तोकिसक्नु भएको छ । राष्ट्रियसभाको बैठक आज २१ गते दिउँसो १२ः१५ मा र प्रतिनिधिसभाको बैठक भोली सोमबार बिहान ११ बजे बस्दैछन् । आगामी २८ गतेसम्ममा सरकारको नीति तथा कार्यक्रममाथि छलफलगरी पारितगर्ने र आगामी ३० गतेबाट विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने भनिएको छ । ०७२ को संविधानअनुसार प्रत्येक बर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट संसदको संयुक्त बैठकमा अनिवार्य प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यसैबीच प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलेभने सरकारको आगामी आबको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागतरुपमा आएको सामान्य प्रतिक्रिया दिएको छ । संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको सरकारको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानीगर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रममा कुनै नयाँपन केही छैन । परम्परागतरुपमा आएकाले जनतामा आशा जगाउन सक्दैन भन्नुभएको थियो । तर संख्यात्मकरुपमा संसदमा सत्ता पक्षको बहुमत रहेका कारण बिपक्षीहरुको बिरोधले खासै अर्थ नराख्ने र नीति तथा कार्यक्रम तोकिएकै मितिमा पारित हुने अवस्था रहेको जानकारहरुले बताएका छन् ।
नेकां र एमालेद्वारा संसदमा शक्ति प्रदर्शनको तयारी संक्षिप्त नीति तथा कार्यक्रम, छोटकरीमा बजेट
२२ बैशाख २०८२, सोमबार ११:४८
