काठमाडौं । आगामी जेठ १५ गते नै बिद्यमान गणतन्त्रको समाप्ति र राजतन्त्रको पुनस्र्थापना हुने घोषणा गरेका राजावादीहरुले दबाव र सक्रियता बढाउँदै लगेको देखिएको छ । यसैक्रममा गत चैत १५ गतेको राजावादीहरुको आन्दोलनकाक्रममा पक्राउ पर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको रिहाइ मागगर्दै जावलाखेलमा गत शुक्रबारबाट रिले अनसन शुरुभएको छ । राष्ट्रवादी देशभक्त जनता ललितपुरले सो अनसन शुरुगरेको हो । उनीहरुले रवीन्द्र मिश्रमाथि लगाइएको मुद्धा खारेज गर्नुपर्ने, मिश्रसहित तीनकुने घटनामा पक्राउ परेका अन्यलाई पनि रिहा गर्नुपर्ने, विधिको सुशासन कायम गर्नुपर्ने र नागरिक स्वतन्त्रता हक सहितको सम्मान गर्नुपर्ने लगातका चारवटा माग राखेका छन् । अनसन प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी छबजेसम्म हुने बताइएको छ । त्यसैगरी राप्रपाको एक टोलीले तीनकुने काण्डमा पक्राउ पर्नुभएका रवीन्द्र मिश्र र धवलसमशेर जबरालाई छुटाउन पहिले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको थियोभने त्यसपछि प्रधानमन्त्री केपी ओलीलाई भेटेको थियो ।

क्यान्सरपीडित धवल शम्शेर छुटिसक्नु भएको छभने अब मिश्र र दुर्गा प्रशाइँलगायत पनि छुट्न लागेको बताइएको छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, डा. प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डेले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना कुराहरु राख्नु भएको थियो । उहाँहरुले चैत १५ को घटनामा राप्रपाको संस्थागत संलग्नता नरहेकाले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई बिनाशर्त छोड्नुपर्ने माग गरिसक्नु भएको छ । त्यसैगरी राजसंस्था पुनस्र्थापनालगायतका एजेन्डा बोकेर आन्दोलन गरिरहेका बिभिन्न दल, अभियान र समूहका मुख्य नेताहरु गत सोमबारबाट एकजुट भएका छन् । राप्रपा नेपालको आयोजनामा काठमाडौंको शान्तिबाटिकामा भएको जनप्रदर्शनमा राजावादीहरु एकजुट देखिएका हुन्। राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्र पुनस्र्थापना र संघीयता खारेजीको मुद्धा उठाएका राप्रपादेखि संयुक्त जनआन्दोलन समिति सम्मका नेतालाई एकैमञ्चमा उभ्याउने काम राप्रपा नेपालका अध्यक्ष कमल थापाले गर्नुभएको थियो ।