नेकपा (मसाल) ले शिक्षकमाथि गतसाता सरकारले गरेको कुटपिटलाई गम्भीररुपमा लिन्छ र त्यसका लागि सरकारको कडा शब्दमा भत्र्सना गर्दछ । त्यसले सरकारको गैरजिम्मेवार चरित्रलाई बताउँछ । त्यो घटनाबाट खालि शिक्षकका माग पूरागर्ने प्रश्नमामात्र होइन, सम्पूर्ण देशकालागि नै वर्तमान सरकार अत्यन्त अनुत्तरदायी भएको देखिन्छ । यो सामान्य कुरा होइनकि शिक्षकहरुले हजारौँको संख्यामा राजधानीमा आएर आन्दोलन गर्दैछन् । पहिले उनीहरुले पालिका तहबाट शुरु गरेर प्रदेश तहहुँदै राजधानीमा आएर आफ्नो आन्दोलन शुरुगरेका हुन् । राजधानीमा पनि उनीहरुले प्रदर्शन शुरु गरेको पुगनपुग एक महिना भइसक्यो । त्यो अवस्थामा सरकारले उनीहरुका माग पूरागर्नुको सट्टा उनीहरुप्रति दमनको नीति अपनाउँदैछ । हाम्रो पार्टीले उनीहरुका मागलाई शीघ्र पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । शिक्षकका माग सही र न्यायपूर्ण छन् । उनीहरुका माग त्यो सहमतिमाथिनै आधारित छन्, जो पहिले शिक्षक र सरकारका बीचमा भएको थियो । अहिलेको आन्दोलनको जुन स्थिति पैदाभएको छ, त्यो सरकारले स्वयं गरेको सम्झौताअनुसार ऐन नबनाएको हुनालेनै उत्पन्न भएको हो । सरकारले कतिपय विरोधी पक्षले उचालेको हुनालेनै शिक्षकहरु आन्दोलनमा उत्रेको बताइरहेको छ । त्यस प्रकारको आलोचना पूरै गलत छ । जस्तोकि माथि भनियो, शिक्षकहरुले विरोधी पार्टीले उचालेर होइन, पालिका तहदेखिनै उनीहरुले आफ्ना माग उठाउँदै आएका छन् र बिभिन्न विरोधी पक्षले उनीहरुका न्यायपूर्ण मागलाई नै समर्थन गरिरहेका छन् । सरकारले शिक्षकलाई विरोधी पक्षसित जोडेर आफ्नो गैरजिम्मेवार चरित्रमाथि पर्दाहाल्ने प्रयत्न गरिरहेको छ । सरकारको त्यस प्रकारको चरित्रलेगर्दा खालि शिक्षकबारेमात्र होइन, देशको सम्पूर्ण स्थिति र भविष्यबारे पनि गम्भीर आशंका उत्पन्न भएको छ । त्यसबारे गम्भीर हुन हाम्रो पार्टीले सम्पूर्ण देशभक्त र न्यायप्रेमी जनताको ध्यान आकर्षितगर्न चाहन्छ । त्यसैगरी पोखरा विमानस्थलको निर्माणबारे करिब १० अर्ब रुपियाँ भ्रष्टाचार भएको तथ्य संसदको सार्वजनिक लेखा समितिको उपसमितिले बाहिर ल्याएको छ । त्यो समाचारप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । कुरा योमात्र होइन कि त्यो अत्यन्त ठूलो पैमानाको भ्रष्टाचार हो । त्यससित सम्बन्धित त्योभन्दा ठूलो र गम्भीर कुरा यो होकि त्यो घटनाले देशमा भ्रष्टाचारले कति गहिरो जरा हालेको छ ? त्यो कुरालाई उदाङ्गो बनाउँछ । त्यस प्रकारको भ्रष्टाचारमा संलग्न उच्च अधिकारी र उच्च राजनीतिक नेतामाथि निष्पक्ष र उच्चस्तरीय छानबिन र कारवाही हुनु ता आवश्यकता छ नै तर बिद्यमान भ्रष्ट प्रणालीमाथि ध्यानदिँदा त्यो कारवाही पनि कहाँसम्म हुनेछ ? त्यो कुरामा शंका नै छ । पोखराको विमानस्थल भ्रष्टाचार काण्डबाट प्रशासन र उच्च राजनीतिक तहमा व्याप्त त्यस प्रकारका भ्रष्टाचारलेगर्दा नै देशको विकास हुननसकेको कुरा प्रस्ट भएको छ । त्यो अवस्थामा भ्रष्टाचारका विरुद्ध उच्च जनचेतना उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । त्यसैगरी कश्मिरको पहलगामको हिंसात्मक घटनापछि भारत र पाकिस्तानकाबीचमा गम्भीर प्रकारको तनावको स्थिति उत्पन्न भएको छ र त्यहाँ युद्ध हुने सम्भावनालाई पनि अस्वीकारगर्न सकिन्न । त्यस सन्दर्भमा भारतले पाकिस्तान र भारतकाबीचमा भएको सिन्धु जलसन्धि खारेजगर्ने घोषणासमेत गरेको छ । स्थानीयरुपमा भएको एउटा घटनाका लागि पाकिस्तानका लाखौँ जनताको जीवनसित सम्बन्धित सम्झौतालाई खारेजगर्नु अवश्य पनि सही होइन र त्यो चरम प्रकारको अमानवीय कार्य हो ।

त्यसका पछाडिको मोदीको उद्देश्य पाकिस्तानका विरुद्ध उग्रराष्ट्रवादी वा हिन्दूवादी भावना पैदागरेर भारतमा आफ्नो राजनीतिक स्थिति मजबुत पार्ने तथा छिट्टै हुन थालिरहेको विहारको चुनावलाई प्रभावितगर्ने उद्देश्यले पनि काम गरेको सम्भावनालाई अस्वीकारगर्न सकिन्न । त्यस सिलसिलामा पाकिस्तानले भारतका विरुद्ध एटम बम प्रयोगगर्ने धम्की पनि दिनथालेको छ । भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् । उनीहरुकाबीचमा आणविक युद्ध भएमा त्यसको असर खालि ती दुई देशसम्ममात्र सीमित रहने छैन तर आणविक युद्धको कुरागर्न जति सजिलो छ, त्यति त्यसलाई शुरुगर्नु अवश्य पनि छैन । जे होस्, बिनाएटम बम पनि, जस्तैकि गत कालमा कैयौँ पल्ट हुनेगरेको छ, ती दुई देशका बीचमा युद्ध शुरु भयोभने त्यसको असर सम्पूर्ण दक्षिण एशियामा र केही हदसम्म पूरै विश्वमा पनि पर्नेछ । पहलगामको घटना सामान्य आतंकवादी घटना मात्र होइन । भारतबाट अंग्रेज गएपछि भारत र पाकिस्तान दुईवटा देश बने । कश्मिरको प्रश्नलाई लिएर पाकिस्तान र भारतकाबीचमा युद्ध भयो । संयुक्त राष्ट्र संघको मध्यस्थतामा कश्मिरमा जनमत संग्रह गराउने, उनीहरु भारत र पाकिस्तानमध्ये कुनमा मिल्न चाहन्छन् वा स्वतन्त्र हुन चाहन्छन् ? त्यो कुराको स्वयं कश्मिरका जनतालाई नै फैसलागर्न दिने निर्णय भएको थियो । भारत र पाकिस्तान दुवै त्यसका लागि सहमत भएका थिए । तर पछि भारतले त्यो फैसलालाई कार्यान्वयनगर्न अस्वीकार ग¥यो र सम्पूर्ण कश्मिरमा आफ्नो अधिकार भएको दाबी ग¥यो । भारतको त्यस प्रकारको नीतिका कारणले नै गत करिब साढे सात दशकदेखि कश्मिर अशान्त छ । त्यहाँका जनताले संयुक्त राष्ट्र संघमा भएको सहमतिअनुसार जनमत संग्रह माग गर्दछन् र त्यसका लागि आन्दोलन गरिरहेका छन् । पहिले कश्मिरलाई स्वायत्त शासनको अधिकार दिइएको थियो । पछि मोदी सरकारले त्यो अधिकारलाई पनि समाप्त गरेर त्यसलाई पूरै भारतीय संघमा सामेल ग¥यो । त्यो कारणले पनि त्यहाँका जनतामा धेरै नै असन्तोष बढिरहेको छ । भारतले उनीहरुको आन्दोलनलाई आतंकवादी गतिविधि बताउँछ र शक्तिद्वारा त्यसलाई दबाउने कोशिसगर्दै आएको छ । यो सत्य हो कि काश्मिरमा कैयौँ आतंकवादी संगठनहरु पनि छन् र उनीहरुले आतंकवादी तरिकाहरु अपनाएर निर्दोष जनताको पनि हत्यागर्ने गर्दछन् । निश्चितरुपले पहलगामको हिंसात्मक घटना एउटा आतंकवादी घटनानै थियो । किनभने त्यहाँ निरपराध र निःशस्त्र जनताको हत्यागरिएको थियो । जसमा कश्मिरमा घुम्न गएका एकजना नेपालीको पनि हत्या गरिएको थियो । कश्मिरको समस्याको समाधान एउटै तरिकाले हुनसक्दछ ः संयुक्त राष्ट्र संघमा भएको सम्झौताअनुसार त्यहाँ जनमत संग्रह गराएर त्यहाँका जनतालाई आफ्नो भाग्यको फैसलागर्ने अधिकार दिनुपर्छ । कश्मिरबारे भारतले जुन नीति अपनाएको छ, त्यो साम्राज्यवादी नीति हो ।

पहलगामको घटनापछि भारत र पाकिस्तानकाबीचमा पैदा भएको धमिलो पानीमा पूर्व राजाले हिन्दूकरणको कार्ड फ्याँकेर माछा मार्ने प्रयत्न गरेका छन् । यो बुझ्न गाह्रो पर्दैनकि त्यसका पछाडिको उनको उद्देश्य आफूलाई पक्का हिन्दूवादी र मोदीको हिन्दूवादी नीतिको पक्षमा भएको देखाएर नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि भारतका कट्टर हिन्दूवादी शासक वर्गको अनुग्रह प्राप्तगर्नु नै हो । त्यसैले उनले पहलगाममा भएको हत्याकाण्डलाई हिन्दुमाथि भएको हत्याकाण्डभनेर त्यसलाई हिन्दूकरणगर्ने प्रयत्न गरेका छन् । भारतका मोदीले हिन्दूस्तानका प्रत्येक घटनालाई हिन्दूत्वको रङ दिने प्रयत्न गर्दछन् र त्यही प्रकारले पूर्वराजाले पनि आफूलाई पक्का हिन्दूवादीका रुपमा प्रस्तुतगरेर मोदीको समर्थनद्वारा नेपालमा राजतन्त्रको पुनस्र्थापनाको सपना पूरागर्न पासा फ्याँकेका छन् । पूर्व राजाको त्यो नीतिअनुसारनै राजावादीले पाकिस्तानको काठमाडौंस्थित राजदूतावासका अगाडि पहलगाममा हिन्दूको हत्या भएको बताएर विरोध प्रदर्शन पनि गरेका छन् । राजावादीको त्यस प्रकारको प्रयत्नले नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि उनीहरुले बारम्बार गरेका प्रयत्न, जसमध्ये गत चैत १५ गतेको तोडफोड र आगलागीसमेतको हिंसात्मक कारवाही पनि आउँछ, को असफलतापछि उनीहरुमा पैदा भएको निराशालाई नै बताउँछ ।