
काठमाडौं,३ मंसिर । एमाले प्रतिनिधिसभा पुनःस्थापनाको मागगर्दै सर्वाेच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरुको हिजोको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिनुभएको छ । बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायरगर्ने निर्णय गरेको थियो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा हिजो भएको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले संसद् पुनःस्थापनाका लागि कानूनी उपचार र शान्तिपूर्ण संघर्र्षमा जानुपर्ने धारणा राख्नुभएको थियो ।
त्यसैगरी सो पार्टीका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापनागरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभएको छ । एमालेको विघटित संसदीय दलको बैठकलाई हिजो ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधनगर्दै उहाँले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद पुनःस्थापना आवश्यक देखिएको बताउनुभएको थियो । महासचिव पोखरेलले गत भदौ २३ र २४ का जेनजी प्रदर्शनका क्रममा षड्यन्त्रपूर्वक भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको थियो । उहाँले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठनको मागमा अडिग रहेको पनि बताउनुभएको थियो ।