
काठमाडौं,३ मंसिर । बर्तमान सरकारले बिभिन्न ११ देशमा राजदूत बिहीन बनाएको छभने फिर्ता बोलाइएका राजदूत काठमाडौंमा घुम्दै गरेको देखिएको छ । सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदुतहरु हाल हाजिरीमा सीमित रहेका छन् । वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरुलाई कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको थियो । सोहीअनुसार नेपाल आउनुभएका राजदूतहरुलाई मन्त्रालयमा कामकाज गर्नेगरी व्यवस्था मिलाइएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभएको छ । फिर्ता बोलाइएका ११ मध्ये चारजना राजदूतले पदबाट राजिनामा दिइसकेको र राजिनामा पनि स्वीकृत भइसकेको उहाँले बताउनुभएको छ । यद्यपि राजदूतहरुलेभने आफ्नो दैनिकी हाजिर गरेर घर फर्कनेमात्र भइरहेको बताएका छन् । नाम नबताउने शर्तमा एकजना राजदूतले आफूहरु सर्वाेच्च अदालतको निर्णयको पर्खाइमा रहेको जानकारी दिनुभएको छ ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानूनसम्मत नभएकोभन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्धाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारीगरेको थियो । सर्वोच्च अदालतको आदेशपछि सरकारले पत्र पठाउँदै उहाँहरुलाई मन्त्रालयमा काजमा बोलाएको थियो । सरकारले काजमा बोलाएका राजदूतहरुमा राजदूतहरुमा चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य बेलायत), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), हुनुहुन्छ । उहाँहरुमध्ये घिमिरे, रेग्मी, ओली र पौडेलले राजिनामा दिनुभएको थाहा भएको छ ।