अमेरिकाको ४७ औं राष्ट्रपति बन्नु भएका डोनाल्ड ट्रम्पको दोश्रो कार्यकालले १०० दिन पनि गतसाता पारभएको छ । जुन दिनहरु विश्वमा तहल्का मच्चाउँदै बितेको विश्वभर टिका टिप्पणीहरु भैरहेका छन् । बितेको १०० दिनमा उहाँले जारीगरेका कार्यकारी आदेश, निर्देशन र उहाँकै योजनाअनुसार कर्मचारी कटौतीगर्नभन्दै बनेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डज)ले गरेका निर्णय र ट्यारिफ वारका कारण अमेरिकामात्रै होइन सिंगो विश्व व्यवस्था नै खलबलिएको ठानिएको छ । टाइम म्यागेजिनले ट्रम्पको १०० दिने कार्यकालबारे गरेको रिपोर्टिङमा दोश्रो कार्यकालका पहिलो १०० दिनहरु अमेरिकी इतिहासकै सबैभन्दा अस्थिर बनाउने दिनहरु भएको उल्लेख गरेको छ । टाइम पत्रिकाले ट्रम्पले १०० दिनमा ह्वाइट हाउसमा धेरैनै देखावटी फेरबदलमात्रै गर्नुभएको छ, तर उहाँले राष्ट्रपतिकारुपमा निकै गहिरो प्रभाव छाड्ने काम गरेको भनेको छ । दोश्रो कार्यकालको १०० दिनमा उहाँले शक्ति हत्याउनेदेखि रणनीतिक फेरबदल, सोझै आक्रमणमा उत्रिने उहाँको शैलीले विपक्षी, अन्तर्राष्ट्रिय समकक्षी र धेरै समर्थकलाई समेत स्तब्धपारेको टाइम पत्रिकाको मूल्यांकन छ । टाइम म्यागजिनले ट्रम्पले जारीगरेका एकपछि अर्को आदेशले पूरै सरकारी निकाय र विभागलाई अशक्त बनाइदिएको उल्लेख गरेको पाइन्छ । ट्रम्पले १०० दिनमा ग्रिनल्यान्डलाई बलपूर्वक कब्जागर्ने, पनामा नहरलाई नियन्त्रण लिने, र क्यानडालाई गाभ्नेजस्ता धम्की एकपछि अर्कोगर्दै दिइरहेको उल्लेख गरेको छ । संघीय सेवामा कार्यरत एक लाखभन्दा बढी कर्मचारीलाई हटाउनेदेखि विश्वबिद्यालयको अनुदान रोक्नेसम्मका सबै काम उहाँले यही १०० दिनमा गर्नभ्याएको सो पत्रिकाको टिप्पणी छ । ट्रम्पले एकपछि अर्कोगर्दै लिएको ट्यारिफसम्बन्धी निर्णयबारे टाइम म्यागेजिनले लेखेको छ–विश्व अर्थतन्त्रलाई नयाँ ढाँचामा ढाल्ने प्रयासमा उनले व्यापकरुपमा भन्सार शुल्क लगाउँदै व्यापार युद्ध शुरु गरेका छन् । जसले बजारहरु ध्वस्त बनाएको छ । अलजजिराले भने राष्ट्रपति ट्रम्पले १०० दिनमा यसअघिका राष्ट्रपतिलेभन्दा धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेको उल्लेखगर्दै उहाँले ट्यारिफहरु लगाएर विश्व बजारलाई अस्थिर बनाएको उल्लेख गरेको छ । ट्रम्पले हालसम्म कम्तीमा १४२ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेको पाइउको छ । कार्यकाल सम्हालेको पहिलो दिनमानै उहाँले २६ वटा आदेशमा हस्ताक्षर गनुृभएको थियो । जसमा सन् २०२१ को जनवरीका क्यापिटल हलमा भएको घटनामा दोषी ठहरिएका १,५०० भन्दा बढी व्यक्तिलाई माफी दिनेदेखि विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुने र मेक्सिको खाडीको नाम परिवर्तन गरी गल्फ अफ अमेरिका राख्नेलगायतका विषयसमेत समेटिएका थिए । खर्च घटाउन कर्मचारीको व्यापक कटौतीगर्ने भन्दै राष्ट्रपति ट्रम्पले खर्बपति इलन मस्कको नेतृत्वमा डज स्थापना गर्नुभएको थियो । सीएनएनकाअनुसार डजले संघीय एजेन्सीहरुबाट कम्तीमा एकलाख २१ हजार कर्मचारीलाई बर्खास्त गरिएको जनाएको छ । ट्रम्पको १०० दिने कार्यकालमा विश्वका कम्तीमा ११ नेताहरुले अमेरिकाको औपचारिक भ्रमण गरेको पाइउको छ । जसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुदेखि जापानी प्रधानमन्त्री शिगेरु इशिबासम्म, जोर्डनका राजा अब्दुल्लाह दोश्रोदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मले अमेरिका पुगेको तथ्यांक छ । फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोनदेखि इटालियन प्रधानमन्त्री जोर्जिया मेलोनीसम्मले यहीबीचमा अमेरिका भ्रमण गर्नुभएको थियो । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको गत फेब्रुअरी २८ मा भएको अमेरिका भ्रमणभने वाक युद्धमामात्रै बदलिएन, यही घटनापछि राष्ट्रपति ट्रम्पले अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहायता फिर्ता गरिएको घोषणासम्मका घटना विकसित भएका थिए । अलजजिरा टेलिभिजनले ट्रम्पको दोश्रो कार्यकालको १०० दिनको समीक्षागर्दै चुनावी अभियानकाक्रममा ट्रम्पले कम्तीमा ७५ वटा आश्वासन दिएको उल्लेख गरेको छ । अमेरिकी गैह्रसरकारी संस्था पोयन्टर इन्ष्टिच्युटलाई उद्धृतगर्दै अलजजिराले ट्रम्पले आफ्ना छवटा बचनहरु पूरा गरेको, एक तोडेको, चारमा ढिला गरेको र २३ वटा बचन पूरागर्ने प्रयास गरेको तथा ४१ वचनहरुको मूल्यांकन अझै नगरिएको भनेको छ । १०० दिन पूराभएको अवसरमा गतसाता मंगलबार ट्रम्पले मिसिगनमा आफ्ना समर्थकलाई सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनकाक्रममा उहाँले आन्तरिक उद्योग स्थापना, आप्रवासीको समस्यालाई कड्याइकासाथ हेर्दै निष्कासन र विश्व राजनीतिमा पारेको प्रभावबारे लामै फेहरिस्त सुनाउनु भएको थियो । उहाँले अधिकांश समय आफ्नो उपलब्धि र पूर्वराष्ट्रपति जो बाइडेनको आलोचना गर्नमै खर्चिनु भएको थियो । उहाँले आफ्नो पहिलो १०० दिनको कार्यकाल सफल भएको दाबी पनि गर्नुभएको थियो । आफ्नो भाषणकाक्रममा उपलब्धिको प्रशंसागर्दै आलोचकविरुद्ध खरो अभिव्यक्ति दिनुभएको थियो । बाइडेनलाई त असफल र मूर्ख नेतृत्वकर्ता भएको टिप्पणी समेत गर्नुभएको थियो । त्यसक्रममा ट्रम्पले आफूले राष्ट्रपति पदलाई गहन परिवर्तनका लागि उपयोग गरेको दाबी गनुृभएको थियो । गतसाता मंगलबार नै डेट्रोइटको एक उपनगरमा उपस्थिति जनसमूहलाई सम्बोधनगर्दै उहाँले भन्नुभएको थियो–हामीले भर्खरै शुरुगरेका छौं । तपाईंले अहिलेसम्म केही देख्नुभएको छैन । उहाँले अमेरिकाका स्वचालित उद्योगहरुकाबारेमा कार उद्योगहरु मध्यपश्चिमी राज्यमा प्लान्ट खोल्नका लागि लाइनमा बसेकोसमेत बताउनु भएको थियो । अमेरिकी कार निर्माताहरुले मूल्य बढ्ने चेतावनी दिएपछि उहाँले आफ्नो आर्थिक योजनाको मुख्य कुरानै विदेशी कार र कारका पाटपूर्जाको आयातमा कर लगाएर सहज बनाएको दाबी गर्नुभएको थियो । सम्बोधनकाक्रममा ट्रम्पले आफ्नो लोकप्रिया घटेकोभन्ने मत सर्वेक्षणलाई नक्कली भएको आरोप लगाउनेदेखि आफ्नो कार्यकालमा अण्डाको मूल्य ८७ प्रतिशतले घटेको दाबीसम्मका कुरा सुनाउनु भएको थियो । बिभिन्न सर्भेक्षणहरुले सन् २०२५ को पहिलो तीनमहिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशितरुपमा खुम्चिएको जनाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा संकुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको समेत अनुमान रहेको छ । सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धिभएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन पहिलो त्रैमासिकमा वार्षिक ०.३ प्रतिशतका दरले घटेको मन्त्रालयले उल्लेख गरेको छ । ब्रिफिङ डट कमका अनुसार गतसाता बुधबारको आँकडामा बजारको ०.४ प्रतिशतको वृद्धिको अनुमानभन्दा कम हो । वाणिज्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा पहिलो त्रैमासिकमा वास्तविक कूल गार्हस्थ्य उत्पादनमा आएको मन्दीले आयातमा आएको वृद्धि, उपभोक्ता खर्चमा आएको कमी र सरकारी खर्चमा आएको मन्दीलाई प्रतिबिम्बित गरेको जनाएको छ । ट्रम्प सत्तामा फर्केको गत जनवरी २० देखि १०१ औँ दिनका अवसरमा सो तथ्यांकक सार्वजनिक गरिएको हो । यो समयमा उहाँले अमेरिकी व्यापार सम्बन्धलाई पुनस्र्थापितगर्न अप्रिलको शुरुदेखि शीर्ष व्यापारिक साझेदारहरुलाई व्यापक कर लगाउने योजनाहरु प्रस्तुतगर्दै मार्चमा धेरै चरणहरुमा कर वृद्धिको घोषणा गर्नुभएको थियो । गत अप्रिलमा ट्रम्पको नीतिको आलोचनागर्दै भएको नाटकीय शेयर बजारको गिरावटपछि ट्रम्प प्रशासनले व्यापार वार्ताको लागि अनुमति दिन दर्जनौं देशहरुलाई उच्च कर वृद्धिको लागि ९० दिनको विरामको घोषणागर्दै अधिकांश देशहरुको लागि आधारभूत १० प्रतिशत दर कायम गरेको थियो । यसले स्टिल, आल्मुनियम र अटोमोबाइल्स र संयुक्त राज्य अमेरिकामा नबनेका पार्टपुर्जाहरुमा क्षेत्र–विशिष्ट उपाय र चीनमाथि कुल १४५ प्रतिशत नयाँ व्यापक करहरु घोषणा गरेको छ । त्यसको जवाफमा बेइजिङले अमेरिकी सामानमाथि कडा र लक्षित कर लगाएको थियो ।
त्यसैगरी हुथी विद्रोहीविरुद्धको हवाई कारवाहीमा वाशिंटनले मार्चको मध्यदेखि हालसम्म यमनमा एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ । हुथी विद्रोहीले सन् २०२३ को अन्त्यतिर रेड सी र एडेनको खाडीमा पानीजहाजलाई निशाना बनाउन शुरुगरेपछि संयुक्त राज्य अमेरिकाले सन् २०२४ को शुरुदेखि उनीहरुविरुद्ध आक्रमण गरेको थियो । पेन्टागनका प्रवक्ता सिन पार्नेलले मध्यपूर्वका लागि जिम्मेवार सैन्य कमाण्डलाई संकेतगर्दै गतसाता मंगलबार जारीगरेको विज्ञप्तिमा मार्च १५ देखि यसको हवाई अभियानको पछिल्लो चरणमा अमेरिकी केन्दूय कमाण्ड (यूएस सेन्टकोम) ले एक हजारभन्दा बढी लक्ष्यहरुमा प्रहार गरेको छ । आक्रमणमा हुथी लडाकु र प्रभावशाली नेताहरुको मृत्यु भएको छ । यसले उनीहरुको क्षमतामा ह्रास ल्याएको भनिएको थियो । यसरी अमेरिकी राष्ट्रपतिका १०० दिन विश्वमा हलचल मच्चाउने बाहेक खासै उपलब्धीपूर्ण नरहेको मूल्यांकन गर्न थालिएको छ । उहाँको दोश्रो कार्यकाले भाबि दिनमा अमेरिकालाई अझ धरासायी बनाउने र बिभाजनमा समेत पु¥याउन सक्ने आंकलनहरु हुनथालेका छन् ।