काठमाडौं । भारतले गए रातिबाट पाकिस्तानमा मिसाइल आक्रमण, शुरु गरेको छभने कैयन सर्बसाधारण हताहत भएका छन् । नेपालमा समेत उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ । बिबिसी र सिएनएन लगायतका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशन र प्रशासरण गरेका समाचार बिवरणहरुअनुसार भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको सैन्य कारवाही अन्तर्गत पाकिस्तानका बिभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानहरुबाट भारतमाथि हुने आतंकी आक्रमणहरुको योजना र निर्देशन भइरहेको थियो । पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृतगर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले तीन दर्जन भन्दा बढी घाइते भएको जनाएका छन् । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका बिभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ । भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको जनाएको छ । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो। गत महिना कश्मीरमा पर्यटकहरुमाथि भएको घातक आतंकवादी आक्रमणपछि आणविक हतियार सम्पन्न दुवै देशबीचको सम्बन्धमा तीव्र गिरावट आएको छ । कश्मीर पूर्णरुपमा भारत र पाकिस्तान दुवै देशले दाबी गर्दैआएका छन् । आज बुधबार बिहान गरिएको आक्रमणमा यो समाचार तयारगर्दासम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए । आज बुधबार बिहान करिब पौने दुई बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको छ ।
अन्तराष्ट्रिय न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ । पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको छ । एएनआईकाअनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गर्नुभएको भनिएको छ । यसैबीच पाकिस्तानले पनि मिसाइल परीक्षणलाई तीब्रता दिएको छ । पाकिस्तानी सेनाले १२० किलोमिटर (७५ माइल) दूरीसम्म प्रहार गर्नसक्ने मिसाइल परीक्षण गरिएको जनाएको छ । सो प्रक्षेपण सैनिकहरुको युद्ध तयारी निश्चितगर्ने उद्देश्यले गरिएको समाचार संस्था एएफ्पीले जनाएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गर्नुभएको छ । ख्वाजा आसिफले बीबीसी उर्दुसँग बताउनु भएअनुसार भारतले आतंकवादी लुक्ने ठाउँहरुलाई लक्ष्य गरिएको दाबी गरिरहेका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु– सबै पक्षले आफैँ आएर हेर्नुहोला, यी आतंकवादी लुक्ने ठाउँ हुन् कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिद पनि परेका छन् । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भएको क्षेप्यास्त्र आक्रमणको बारेमा जानकारीदिँदै एक विज्ञप्ति जारी गरेको छ। संयुक्त राष्ट्र संघले उक्त विज्ञप्तिको जवाफ दिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भएको भारतीय सैन्य कारवाहीप्रति आफू चिन्तित रहेको बताउनु भएको छ । एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम सैन्य संयम अपनाउन अपील गरेको बताउनु भएको छ । उहाँले विश्वले भारत र पाकिस्तान बीचको सैन्य टकराव सहन सक्दैन भन्नुभएको छ । यसअघि मे ५ मा, गुटेरेसले सामाजिक सञ्जाल एक्समा पोष्टगर्दै भारत र पाकिस्तानबीचको तनाव धेरै वर्षयताकै उच्चतम बिन्दुमा रहेको बताउनु भएको थियो ।