वाशिंटन, १ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत बिहीवार भएको टेलिफोन कुराकानीमा ठूलो प्रगति भएको बताउनुभएको छ । दुवै पक्ष हंगेरीमा प्रत्यक्ष वार्तागर्न सहमत भएको पनि उहाँले बताउनुभएको छ । मध्यअगष्टयता पहिलोपटक भएको पुटिनसँगको कुराकानी निकै फलदायी रहेको उहाँको भनाई छ । ट्रम्पकाअनुसार वाशिंटन र मस्कोका प्रतिनिधिहरुबीच आउँदो साता भेटघाट हुनेछ । ट्रम्पले पुटिनसँग बुडापेष्टमा हुने बैठकको मितिभने बताउनु भएन । क्रेम्लिनले उक्त अत्यन्तै खुलस्त र भरोसायोग्य फोनवार्तापछि तत्कालै शिखरवार्ताबारे काम शुरुहुने जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमलागर्न सक्ने टमहक क्षेप्यास्त्र युक्रेनलाई दिनेकि नदिनेभन्ने सम्बन्धमा विचार गरिराखेका बेला उक्त फोनवार्ता भएको हो । अमेरिका पुग्नासाथ जेलेन्स्कीले मस्को टमहकको कुरा सुन्नासाथ पुनः वार्ता थाल्न हतारिएको टिप्पणी गर्नुभएको थियो । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले आफू र पुटिनबीच युक्रेनमा युद्ध समाप्त भएपछि रुस र अमेरिकाबीच हुने व्यापारबारे निकैबेर कुरा भएको बताउनुभएको छ ।

उहाँले अर्को हप्ता दुवै देशका वरिष्ठ सल्लाहकार हरुबीच बैठक हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुवियोले गर्ने बताउनुभयो । उहाँले बैठक कहाँ हुनेभन्ने अझै तय हुन बाँकी रहेको बताउनुभएको छ । ट्रम्पले पुटिनसँगको कुराकानीबारे हिजो शुक्रवार जेलेन्स्कीलाई पनि जानकारी दिने बताउनुभएको थियो । उहाँले टेलिफोन वार्तामा निकै प्रगति भएको मेरो ठम्याइ छ भन्नुभएको थियो । पुटिनसँग दुई साताभित्र बैठक हुने ठानेको पनि पछि संवाददाताहरुसँग उहाँले बताउनुभएको थियो । युक्रेनलाई टमहक क्षेप्यास्त्र दिइने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिकाले उक्त क्षेप्यास्त्रको भण्डारलाई घटाउन नसक्ने बताउनुभएको थियो । उहाँले त्यो हामीलाई पनि चाहिन्छ… त्यसैले त्यस सम्बन्धमा हामी के गर्न सक्छौँ भन्नेबारे मलाई थाहा छैन भन्नुभएको थियो ।

पुटिनसँग युक्रेन युद्धबारे अलास्कामा भएको वार्ता विफल भएपछि ट्रम्प मस्कोप्रति कठोर रहँदै आउनुभएको छ । गत अगस्ट १५ मा अलास्कामा भएको प्रत्यक्ष वार्ता युद्ध अन्त्यगर्नेबारे रुसी राष्ट्रपतिलाई सहमत गराउन फलदायी हुने ट्रम्पको आशा थियो । अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला उहाँले आफूले युक्रेन युद्ध अन्त्यगर्ने वाचा गर्नुभएको थियो । रासस,एएफपी