काठमाडौं, १ कार्तिक । नेपाली सेनाले हिजो एक पत्रकार सम्मेलनगरी सुरक्षा खतरा बढ्नसक्ने आंकलन प्रस्तुत गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा हिजो आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइएको थियो । सेनाको युद्धकार्य महानिर्देशक पवनजंग थापाले जेनजी आन्दोलन विश्वव्यापी तरंग देखिएकोमा यहाँभने अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषणगरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिनुभएको थियो । त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सन्तुलित ढंगले कार्यगर्दै आएको उहाँले बताउनुभयो । सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायमगर्न वस्तुगतढंगले आवश्यक पहलगरेको दाबि गर्नुभएको थियो ।
आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियोभन्ने आकलनगर्न सकिने बताउँदै उहाँले स्थिति सामान्यीकरणगर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढंगबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो । सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपंक्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको बताउँदै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महशुस गरेरनै विभिन्न समूहसँग छलफल गरेको बताउनुभएको थियो । उहाँले देश र जनहितका लागि अरु सबै सुरक्षा फौजसँग हातेमालोगरी काम गरिरहेको पनि जानकारी गराइएको थियो । उहाँले सञ्चारकर्मीको प्रश्नको जवाफमा सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भएपनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दैजाने बताउनुभएको थियो । सहायकरथी थापाले आगामी चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयारगरी क्रमशः कार्यान्वयन गरिँदै लगिने बताउनुभएको थियो ।
सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा, विश्वशान्ति, वन्यजन्तु तथा पर्यावरण संरक्षण, पूर्वाधार विकास, ऐतिहासिक धरोहरको संरक्षण तथा आपत्कालीन उद्धारजस्ता कार्यमा सेनाले महत्वपूर्ण कार्यगर्दै आएको बताउनुभएको थियो । उहाँले गौरवमय इतिहास, पहिचान, परम्परा तथा संस्कृतिसँग गहिरोसँग जोडिएको सेनाले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र एकताको रक्षागर्दै आएको बताउनुभयो । त्यसअवसरमा यसबर्षको मनसुन विपद् व्यस्थापनका क्षेत्रमा संलग्न सबै सरोकारवाला पक्षसँगको सहकार्य, सहयोग र समन्वयमा प्रभावकारी कार्य भएकाले विगतका तुलनामा जनधनको क्षति न्यूनगर्न सकिएको जानकारी दिइउको थियो ।