तस्वीर रासस
काठमाडौं, १४ कातिक । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको वैठकमा आगामी निर्वाचनपछि मात्रै महाधिवेशनगर्ने र ततकाल चुनाव प्रचारमा जोड दिनुपर्ने आवाज उठेको थाहा भएको छ । बैठकमा धारणा राख्नुहुने केन्द्रीय सदस्यहरुले निर्वाचनपछिमात्रै महाधिवेशनगर्नु उपयुक्त हुने धारणा राख्नुभएको हो । पार्टीका प्रवक्ता प्रकाशशरण महतले दिनुभएको जानकारीअनुसार अधिकांश केन्द्रीय सदस्यले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिएर जानुपर्ने धारणा राख्दै सुरक्षाको प्रत्याभूतिगर्न सरकारलाई दबाबदिँदै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोडदिएर धारणा राख्नुभएको बताइएको छ ।
उहाँले संसद विघटनका विषयमा संवैधानिक कुरा पनि उठेको छ, नियमित महाधिवेशनमा नै जोड दिनुपर्छभन्ने अधिकांशको धारणा छ, महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने बहस जारी नै छ, अरु बाँकी साथीहरुले भोलि पनि धारणा राख्नेक्रम जारी छ भन्नुभयो । हिजोको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यसमितिको बैठक आज दिउँसो १ः०० बजेबाट पुन बस्दैछ ।
