काठमाडौं, १ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । बारामा आर्थिक बर्ष ०७९÷८० का विभिन्न निर्माण कार्यका लागि आह्वान गरिएका २३ वटा बोलपत्रको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी मिलेमतोमा ठेक्का प्रक्रिया अघिबढाइएको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानकाक्रममा उक्त डिभिजनका तत्कालीन निमित्त डिभिजन प्रमुख यादव, लेखापाल प्रदिप दास तथा सान्दर्भिक मिडिया नेटवर्क प्रालिका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेलले गैरकानूनी कार्य गरेको भेटिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताउनुभयो । उहाँका अनुसार सार्वजनिकरुपमा सूचना प्रकाशननै नगरी प्रभाव दैनिकको एकमात्र प्रति तयारपारी झुट्टा बिल भर्पाइका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रालिलाई रु तीन लाख १६ हजार ५७० भुक्तानी गरेको पाइयो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) (ङ) बमोजिमको कसुरमा आरोपित सबैलाई तीनलाख १६ हजार ५७० बिगो कायम गरिएको छ । रासस