
काठमाडौं, १ मंसिर । असुरक्षा बढेकोभन्दै उद्योगी–व्यवसायी चिन्तित भएपछि सरकार दबावमा परेको बताउन थालिएको छ । बारम्बार हुने आन्दोलन, कमजोर बजार अवस्था र प्रशासनिक झन्झटका कारण सिरहाका उद्योगी–व्यवसायी चिन्तित भएका छन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहाले हिजो लहानमा आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले समस्या समाधानका लागि सरोकार भएकाहरुको ध्यानाकर्षण गराएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित चारै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा संघका अध्यक्ष विकास सारडाले निजी क्षेत्रको मनोबल उठाउने वातावरण निर्माणगर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कोभिड–१९ महामारी, आर्थिक मन्दी, जेनजी प्रदर्शनका क्रममा भएको बिध्वंश र वर्षालगायत विपत्तिले पु¥याएको क्षतिका घटनाले निजी क्षेत्र समस्यामा छ । ऋण गरेर लगानीगर्ने, तर रोजगारी सिर्जनागर्ने निजी क्षेत्रमाथि आक्रमणगर्ने कामले देशको आर्थिक भविष्य नै जोखिममा पारेको छ भन्नुभयो । अध्यक्ष सारडाले बैंकको कडा कर्जा नीति, बजार चलायमान नहुनु र सीमापारि नेपाली ग्राहकको आकर्षण बढ्नु आन्तरिक बजारका लागि चुनौतीका रुपमा रहेको बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य, सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सुरज, होटल तथा पर्यटन व्यवसायी संघ सिरहाका अध्यक्ष रामकुमार गुप्ताले आफ्ना गुनासा राख्नुभयो । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले व्यापारीमाथि परेको समस्या समाधानगर्न आफूहरुले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो । सबै पक्ष मिलेर सामूहिक भावनासहित अघिबढे मात्र समस्याको दीर्घकालीन समाधान सम्भव हुने उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले अर्थतन्त्र सुदृढीकरणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउँदै सुरक्षित र स्थिर वातावरण निर्माणगर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभएको थियो । उहाँले शान्तिसुरक्षा राज्यमात्र नभई नागरिक समाज र समुदायको समेत जिम्मेवारी भएकाले सहकार्यको माध्यमबाट समस्या समाधानगर्न लाग्नुपर्ने धारणा राख्नुभयो।
प्रजिअ पौडेलले राजमार्ग क्षेत्रमा रात्रिकालीन होटल व्यवसाय २४ घण्टा सञ्चालनगर्न अनुमति दिइने, अन्य व्यवसाय राति ९ः०० बजेसम्म सञ्चालनगर्न सकिने तथा ब्लकको जग्गा फुकुवासम्बन्धी प्रक्रिया द्रूत गतिमा अघिबढाइएको जानकारी दिनुभएको थियो । खुला सीमाबाट लुकीछिपी सामान भित्र्याई व्यवसाय नगर्न पनि उहाँले व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।