काठमाडौं, १ मंसिर । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले बिघटित संसद पुनस्र्थापना नभएसम्म सडक आन्दानेलन नछाड्ने बताउनु भएको छ । उहाँले हिजो भक्तपुरको गुण्डुमा प्रेस चौतरी नेपाल सम्बद्ध पत्रकार माझ उपरोक्त कुरा बताउनु भएको हो । एमालेले जनसभाका लागि आगामी पाँचगते स्वयंसेवकको राष्ट्रिय भेला आयोजना गर्दैछ । त्यसैगरी सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पार्टी आफ्नो पुरानै लयमा फर्किएको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेशका पदाधिकारी, उपत्यका विशेष, जनसंगठन, सम्पर्क समन्वय कमिटीसहितको विशेष बैठकलाई सम्बोधनगर्दै उपमहासचिव ज्ञवालीले गत कात्तिक २२ गतेको वडाभेला, कात्तिक २५ गतेको स्थानीय तहस्तरीय भेला र कात्तिक २९ गतेको जिल्ला भेलाले पार्र्टीका संगठनात्मक गतिविधि बढेकोभन्दै पार्टी लयमा फर्किएको बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले अन्य राजनीतिक दल अलमल र दिशाविहीन अवस्थामा रहेको बेला एमालेमात्र जनताको बीचमा पुगेर वास्तविक जनभावना सुन्न सफल भएको बताउनुभएको थियो । उहाँले जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरका जनप्रदर्शन तथा सभामार्फत एमालेको निरन्तर जनसमर्थन मजबुत बन्दैगएको बताउनुभएको थियो । उहाँले जनस्तरमा एमालेप्रति देखिएको उत्साहले पार्टी संगठन थप ऊर्जावान् बनेको बताउनुभएको थियो ।

बैठकमा जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, बाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई, सम्पर्क समन्वय कमिटीका इञ्चार्ज लालबाबु पण्डित, उपत्यका विशेष समन्वय कमिटीका इञ्चार्ज सुजिता शाक्य, भक्तपुर इञ्चार्ज महेश बस्नेतलगायतले यही मंसिर छगते हुने जनसभालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।