काठमाडौं, २ मंसिर । विदेशमा रहेका श्रमिकलाई पनि निर्वाचनमा मतदानको ब्यवस्थागर्न माग हुनथालेको छ । कतिपयले विदेशबाटै चुनावमा उम्मेदवार हुन पाउनुपर्ने पनि बताउन थालेका छन् । यसैक्रममा नेपाल टे«ड यूनियन कांगे्रसले स्वदेश र विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदानगर्न पाउने व्यवस्था हुनुपर्ने मागसहित निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष महासंघका अध्यक्ष योगेन्द्र कुँवरको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानून र नियमावलीको परिधिभित्र रहेर निर्वाचन प्रक्रिया सञ्चालन र कार्यसम्पादनगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले ज्ञापनपत्रमा रहेका बुँदाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभएको थियो । महासंघ अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मूल मर्मअनुसार श्रमिकका विषय सम्बोधन गरिनुपर्ने माग महासंघले उठाउँदै आएको बताउनुभएको थियो । उहाँले तिनै विषय सम्बोधनका लागि पुनः आयोगको ध्यानाकर्षण गराइएको बताउनुभएको थियो । ज्ञापनपत्रमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदानगर्ने व्यवस्था हुनुपर्ने, संविधानको धारा ४२(१) मा भएको व्यवस्थाअनुरुप युवा, किसान श्रमिकलाई पनि समानुपाति सिद्धान्तका आधारमा राज्यको संसदलगायत निकायमा प्रतिनिधित्वको लागि बेग्लै क्लष्टर बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनुपर्नेलगायत माग समेटिएका छन् ।