काठमाडौं,२६ माघ । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीच समायोजनभई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ । तीनवटै दलको हिजो बसेको संयुक्त बैठकले दल एकीकरणगर्ने निर्णय गरेको साविक एकीकृत समाजवादीका प्रदेशसभा सदस्य माया पन्तले जानकारी दिनुभएको छ । उहाँले समायोजनबारे केन्द्रबाट निर्णय भएर आएको हो, सोहीबमोजिम आज कार्यान्वयन गरिएको हो भन्नुभयो ।
बैठकले साविक माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टलाई नै नेकपा संसदीय दलको नेताका रुपमा चयनगर्ने निर्णय गरेको छ । दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार सदस्य हुनुहुन्छ । समाजवादीका एक सदस्य भने निलम्बनमा छन् । सत्तापक्ष नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) बाट ११ सदस्य छन् । राप्रपाबाट एक सदस्य छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले पदबाट राजीनामा दिएर डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी बन्नुभएको छ । रासस