काठमाडौं,२६ माघ । निर्वाचनको मुखैमा नेपाली कम्युनिष्ट पार्टीभित्र भाँडभैलो शुरुभएको थाहाभएको छ । अधिकांशले संयोजक पुष्पकमल दाहालको बिरोध शुरुगरेका छन् । उम्मेदवार चयनको विषयमै बिवाद बढ्दै गएको बताइन्छ । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताहुँदानै पार्टीको जिम्मेवारी हेरफेर, कार्यविभाजन तथा उम्मेदवारी चयनमा बिवाद उत्पन्न भएको थियो । निर्वाचनको सम्मुखमा नेकपाले एकैपटक सातजना नेताहरुलाई पार्टीबाट निष्कासन गरेपछि बिवाद उत्कर्षमा पुगेको हो । सिन्धुलीका नेता हरिबोल गजुरेलले पार्टीका संयोजक पुष्पकमल दाहालमाथि नै कारवाही हुनुपर्ने माग गर्नुभएको छ । गजुरेलले पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति संयोजक दाहाल भएको जिकिरगर्दै उहाँमाथि नै कारवाही हुनुपर्ने बताएपछि सो बिवाद अन्य जिल्लामा पनि फैलदै गएको जानकारहरुको भनाई छ । पार्टीको आधिकारिक लाइनविपरीत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको र प्रस्ताव तथा समर्थक बसेकोभन्दै नेकपाले गजुरेलसहित सातजना नेतालाई पार्टीकाट निष्कासनको घोषणा गरेको थियो ।

सिन्धुली जिल्ला पार्टीको सिफारिस र निर्णयलाई लत्याएर दाहालले मनोमानी, अहंकारवादी र व्यक्तिवादी ढंगले उम्मेदवारको निर्णय गरेको नेताहरुको भनाई छ । नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जिवच्छ साह (सिरहा) लाई अनुशासनको कारवाहीगर्दै पार्टीबाट निकालेको छ । कारवाहीमा परेकामध्ये धर्मनाथ साह एमालेको टिकट लिएर चुनावमा होमिनुभएको छ । महेश्वर दाहाल सिन्धुलीबाट नेकपाकै विद्रोही उम्मेदवार बन्नुभएको छ । लुम्बिनी प्रदेशका पूर्वमूख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थनगर्न भनिएकोमा नमानेपछि पार्टीले निष्कासन गरेको थियो । नेकपाका संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारीगर्दै नेताहरुलाई निष्कासनगर्न थालिएको छ । बिवादकै कारण निर्वाचनको सम्मुखमा नेकपाका केन्द्रीय सदस्य दीपक जंगम शर्माले पार्टी परित्याग गर्नुभएको छ ।

पार्टीभित्र गुटबन्दी, अपारदर्शी निर्णय प्रक्रिया र विधिविधानविपरीत गतिविधि बढ्दै गएकोभन्दै उहाँले पार्टीको केन्द्रीय सदस्यमात्र नभएर साधारण सदस्यतासमेत त्याग्नु भएको छ । शर्माले समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूलाई अन्याय गरिएको उल्लेखगर्दै पार्टी त्यागेका हुन् । निर्वाचन आयोगबाट प्रकाशित समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो नाम समावेश नहुनु पार्टी केन्द्रको गलत निर्णय भएको उहाँको भनाइ छ । सबैतिरबाट संयोजक दाहाललाई पार्टीबाट हटाउन माग हुनथालेको बताइन्छ । जसलेगर्दा सो पार्टी आगामी निर्वाचनलगत्तै फेरी बिभाजन हुने अवस्था सिर्जना भएको जानकारहरुको भनाई छ ।