
काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल भारी मतकासाथ विजयी हुनुभएको छ । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीकाअनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्तगरी विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँचहजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गर्नुभएको छ । कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषगरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए । रासस