काठमाडौं,२५ फागुन । जुम्लामा रास्वपाकी विनितासहितका छजना उम्मेदवारको जमानत जफत भएको थाहाभएको छ । गत २१ गतेको निर्वाचनमा जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको हो । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन् । जिल्लामा विभिन्न ९ राजनीतिक दल र १ स्वतन्त्रगरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरुमध्ये आधाभन्दा बढी उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत जोगाउन असफल भएका छन् । देशभर रास्वपाको चर्चा र प्रभाव देखिए पनि जुम्लामाभने त्यसको प्रभाव खासै देखिएन । रास्वपाबाट उम्मेदवार बनेकी विनिता कठायतले जम्मा ४२१ मतमात्र प्राप्त गरेको पाइन्छ । आवश्यक मत ल्याउन नसक्दा उहाँको पनि जमानत जफत भएको छ ।
त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले ४०० मत प्राप्त गर्नुभयोभने नेकपा माओवादीका विर्ख शाहीले ७१ मत पाउनु भयो । नेपाल जनता पार्टीका रनील विक्रम शाहीले ४३ मत मात्र प्राप्त गर्नुभयो । यी सबै उम्मेदवारहरुले आवश्यक मत ल्याउन नसकेपछि जमानत जफत भएको हो । त्यसैगरी स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले पनि न्यून मत प्राप्त गरेपछि उहाँको जमानत जफत भएको छ । निर्वाचनसम्बन्धी कानूनी व्यवस्थाअनुसार कुनै पनि उम्मेदवारले खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्तगर्न नसकेमा निर्वाचन कार्यालयमा बुझाएको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार उक्त प्रावधानका कारण ६ उम्मेदवारले जमानत गुमाएका हुन् ।