काठमाडौं,२५ फागुन । नेकपा(मसाल) का महामन्त्रि मोहन बिक्रम सिंहले नेपालको गत २१ गतेको निर्वाचनमा रास्वपाले विजय हाशिलगर्नु भनेको अमेरिकी साम्राज्यवादले विजय हाशिल गर्नुभएको खुलाशा गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा हिजो आयोजित ११६ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसका उपलक्षमा आयोजित कार्यक्रममा उपरोक्त कुरा बताउनु भएको हो । हिजो साँझ भर्चुअल माध्यमबाट सो कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि महामन्त्री सिंहले मन्तव्य राख्दै सही चेतनाको अभावमा प्रवासी नेपालीलेसमेत रास्वपाको वास्तविकता नबुझेको उहाँको भनाइ थियो । उहाँले अहिले पनि साम्राज्यवादीले युद्धको विश्व वातावरण कायम गरेको बताउँदै महिलाले सबैभन्दा बढी युद्धको विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । उहाँले साम्राज्यवादी युद्धबाट सबैभन्दा बढी महिला नै पीडित हुने भएकाले महिलाहरुले युद्धको विरोध गर्नुपर्ने आवश्यकता देखिन्छ भन्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले नेपालमा सञ्चालन भएको महिला अधिकारपत्र अभियानको ऐतिहासिक महत्व रहेको बताउनु भएको थियो । उहाँले उक्त गौरवशाली अभियानलाई महिला आन्दोलनले अझै अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनले साम्राज्यवादका विरुद्ध समाजवादी आन्दोलनसँगै महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माले अहिलेको नयाँ पिँढीलाई एआईले प्रभावित पारेको बताउँदै उनीहरु सिद्धान्त, राजनीति, विचार, दृष्टिकोणजस्ता विषयबाट पछि हटेको धारणा राख्नुभएको थियो । उहाँले नयाँ पिँढीको यस्तो गैरवैचारिक भूमिकाका कारणलेनै फागुन २१ गतेको चुनावमा फरक नतिजा आएको बताउनुभएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) का अध्यक्ष समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व अध्यक्ष ठाकुर खनालले पनि मन्तव्य राख्नुभएको थियो ।