काठमाडौं,२५ फागुन । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगविरुद्ध धनुषा–१ मा प्रदर्शन गरेको छ । आफ्नो पार्टीका उम्मेदवार मातृका यादव विजयी भइसके पनि निर्वाचन आयोगले घोषणा नगरेकोभन्दै नेकपाका कार्यकर्ता हिजो प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल प्रमाणपत्र वितरण मागगर्दै धनुषा–१ को धनुषाधामस्थित मतगणनास्थलमा प्रदर्शन गरेका थिए । नेकपाका उम्मेदवार मातृका यादवले निर्वाचन आयोग दोहरो चरित्र देखाउन खोजेको आरोप लगाउनु भएको थियो । आफैले गरेका निर्णयबाट तीन–तीन पटक निर्वाचन आयोग पछिहटेको उहाँको भनाइ थियो । उहाँले पटक, पटक निर्णय फेरिनु न्याय संगत नभएको बताउनुभएको थियो ।

कसैको दबाबमा आएर आफ्नो जागिर बचाउन निर्वाचन आयोग अधिकृतको कार्यालयका प्रमुखले विजयी भएको प्रमाणपत्र दिन रोकेको यादवको भनाई थियो । उहाँले पहिला त रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरियो । निर्वाचनपछि उनको मतगणनागरी छुट्टै लगत राख्ने भनी निर्णय गरे, अनि आज आएर फेरि आफ्नै निर्णय फेर्दै मुद्धा विचाराधिन रहेको भनी निर्वाचन परिणाम घोषणा गरेको छैन भन्नुभएको थियो । आयोगका शाखा अधिकृत अरुण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको विषयमा सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले मतगणनाको परिणाम घोषणा नगर्न पत्र पठाएको जानकारी दिनुभएको थियो ।

आयोगले पत्रमा सर्वोच्चबाट आदेश नभएसम्म धनुषा–१ मा प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न भनेको छ । आयोगले कर्जा सूचना केन्द्रको ऋणको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएसँगै फागुन १८ गते किशोरी साहको उम्मेदवारी खारेजगर्ने निर्णय गरेको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए । त्यसमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । आयोगले आफ्नो निर्णय नसच्याएर आफूलाई विजयीको प्रमाणपत्र नदिएसम्म प्रदर्शन जारीराख्ने यादवले चेतावनी दिनुभएको छ । आयोगका अन्तिम परिणामअनुसार साहबाहेक यादवको १० हजार ४२८, नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहको ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलको ९ हजार २२० मत आएको सूत्रहरुले बताएका छन् ।