काठमाडौं,२५ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव तथा संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलले अब आफूहरु क्रान्तिको कार्यभार पूरागर्न सच्चा क्रान्तिकारीहरुलाई गोलबन्दगर्दै अगाडि बढ्ने बताउनु भएको छ । बिभिन्न पार्टी सम्बद्ध तीनवटा महिला संगठनहरु क्रान्तिकारी महिला संगठन नेपाल, अखिल नेपाल महिला संगठन र वैज्ञानिक समाजवादी महिला संगठनले संयुक्तरुपमा आठ मार्चको सन्दर्भमा हिजो आयोजित ‘आठ मार्चको महत्व ः महिला मुक्तिको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै महासचिव गजुरेलले उपरोक्त कुरा बताउनुभएको हो । उहाँले गत २१ गतेको निर्वाचनपछि नेपालमा साम्राज्यवादी शक्ति हावी हुनपुगेको बताउँदै देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको निम्ति सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरुबिच सदृढ एकता आजको आवश्यकता बनेको पनि बताउनु भएको थियो ।
उहाँले विकसित राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिमा अब सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन भन्नुभएको थियो । महासचिव गजुरेलले आफूहरुले क्रान्तिको दायित्व नछाडेको बताउनु हुँदै आठ मार्च पनि केवल दिवस नभएर क्रान्तिको उपलब्धि भएको दाबि गर्नुभएको थियो । उहाँले वर्गमुक्तिसँगै श्रमिक महिलाहरुको पनि मुक्ति हुन्छ । त्यसका लागि श्रमिक महिलाहरु क्रान्तिकारी आन्दोलनमा संगठित भएर अगाडि बढ्न जरुरी छ भन्नुभएको थियो । त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधनगर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव बिश्वभक्त दुवालले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विकसित नवीन परिस्थितिको ठोस विश्लेषणगर्दै क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन विचार मिल्ने कम्युनिष्टहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो । क्रान्तिकारी महिला संगठन नेपालकी सहसंयोजक शारदा महतको अध्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन रुकु रणपालले गर्नुभएको थियो ।
कार्यक्रममा वैज्ञानिक समाजवादी महिला संगठनकी संयोजकले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियोभने स्वागत मन्तव्य क्रान्तिकारी महिला संगठन नेपालकी सहसंयोजक मनु विकले राख्नुभएको थियो । कार्यक्रममा महिला मुक्ति आन्दोलनको विषयमा अखिल नेपाल महिला संगठनकी सहसंयोजक प्रतिमा बजगाईले पनि बोल्नु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पार्टी कार्यालय कुपण्डोलमा भएको आठ मार्चको कार्यक्रममा तीनवटै महिला संगठनहरुले ‘दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्ध सम्पूर्ण महिलाहरु एक होऔं, ११६ औं श्रमिक महिला दिवस सफल पारौं’ भन्ने मूल नारा तयगरेका थिए ।