काठमाडौं, १९ चैत । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को केन्द्रीय समितिको पाँचौँ बैठक बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ । सो बैठकले विभिन्न समसामयिक तथा राजनीतिक विषयमा महत्वपूर्ण निर्णयहरु गरेको सो पार्टीले जनाएको छ । बैठकपछि सो पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ– चैत १४ देखि १६ गतेसम्म सम्पन्न बैठकले पार्टीको भावी रणनीति, वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दामा धारणा सार्वजनिक गरेको हो । मानव मुक्ति, जनअधिकार र स्वाधीनताको अभियानअन्तर्गत शहिदहरुप्रति श्रद्धाञ्जली अर्पणगर्दै शुरुभएको बैठकले महासचिव बास्तोलाद्वारा प्रस्तुत माक्र्सवाद–लेनिनवाद–माओवादको झण्डालाई नयाँ उचाइमा उठाउँदै वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौँ शीर्षकको दस्तावेज व्यापक छलफलपछि सर्वसम्मतरुपमा पारित गरिएको छ ।

बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षागर्दै हालै सम्पन्न चुनावलाई प्रायोजितभन्दै खारेजगर्ने आन्दोलन आधारभूतरुपमा सफल भएको दाबी गरेको छ । सो पार्टीका अनुसार करिब ५० प्रतिशत जनसहभागितामा सम्पन्न चुनावले सरकारको वैधानिकतामाथि नैतिक प्रश्न खडागरेको छ । पार्टीले देशमा विद्यमान आर्थिक, सामाजिक र राजनीतिक समस्याहरु समाधानगर्न जनविद्रोह अनिवार्य रहेको निष्कर्ष निकालेको छ । बक्तब्यमा वास्तविक जनताको सत्ता स्थापना नभएसम्म असमानता र अन्याय कायम रहने उल्लेखगर्दै वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अघि बढ्न अपिल गरिएको छ । उदयबहादुर चलाउने दीपकलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको बैठकले विभिन्न समसामयिक विषयमा प्रस्तावहरु पारित गरेको जनाएको छ ः जस्मा इरानमाथि अमेरिकी–इजरायली आक्रमणको विरोध, लिपुलेक क्षेत्रमा भारत–चीन व्यापारिक मार्ग खोल्ने निर्णयप्रति आपत्ति, बढ्दो महँगी नियन्त्रणगर्न सरकारसँग माग, हत्या काण्ड र विध्वंस घटनाको निष्पक्ष छानबिनको माग, ट्रेड यूनियन खारेजगर्ने निर्णयको विरोध, सामाजिक सुरक्षा भत्ताको उमेर सीमा घटाउन माग, शिक्षा र स्वास्थ्य पूर्णरुपमा निःशुल्क गर्नुपर्ने, विगतका आन्दोलनका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने, भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, वित्तीय संस्थामार्फत हुने ठगी नियन्त्रण गर्नुपर्ने, रोजगारी सिर्जना र राष्ट्रिय उद्योग सञ्चालन गर्नुपर्ने र एनजीओ तथा आईएनजीओ खारेज गर्नुपर्ने लगायत छन् ।