काठमाडौं, १९ चैत । एमालेको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेतामा रामबहादुर थापा चयन हुनुभएको छ । पार्टी अध्यक्ष केपी ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिनुभएको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उहाँले बताउनुभएको छ ।

अध्यक्ष ओलीले आफू अस्पतालबाट डिस्चार्ज नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको बैठकमा जानकारी गराइएको थियो । त्यसैगरी एमालेको संसदीय दलको नेतामा पनि रामबहादुर थापा चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायत पदाधिकारीले बधाई दिनुभएको थियो । प्रतिनिधिसभामा एमालेका २५ सदस्य रहेका छन् ।