काठमाडौं, १९ चैत । आजबाट संसदको बैठक शुरुहुँदै छ । आजै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यक्रम छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच संसद्को पहिलो बैठकमै सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुतगर्ने सहमति जुटेको छ । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको दलका प्रतिनिधिको बैठकमा उक्त सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।

उहाँले सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव पहिलो बैठकमा प्रस्तुत हुने र २० गते मनोनयन र २२ गते निर्वाचनगर्ने सहमति जुटेको छ भन्नुभयो । दलहरुबीच संसदको पहिलो बैठकमा जेनजीसहित सबै आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि व्यक्तगर्ने तथा दलका शीर्ष नेताहरुले शुभकामना सम्बोधनगर्ने सहमति भएको छ । बैठकले मौजुदा प्रतिनिधिसभा नियमावली प्रतिस्थापन नहुँदासम्मका लागि पूरानै नियमावलीबाट प्रतिनिधिसभा बैठक सञ्चालनगर्ने र छिट्टै नयाँ नियमावली मस्यौदा गरेर जाने निर्णय गरेको छ ।

कार्यव्यवस्था समिति र अध्यक्षतागर्ने सदस्यको चयन गर्नेबारेमा पनि छलफल भएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभएको छ ।