
काठमाडौं,२५ भदौ । काठमाडौं उपत्यकामा ग्यासको हाहाकार कायमै रहेको छभने सडकदेखि सदनसम्म नै आबश्यक प्रबन्धगर्न नसकेकोमा सरकारको निन्दा भैरहेको छ । कतिपय स्थानमा प्रदर्शनहरु पनि जारी छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास खपत हुने भएपनि बजारमा मागअनुसार आपूर्ति हुनसकेको छैन । नेपाल आयल निगमको अनुमानअनुसार उपत्यकामामात्रै अहिले १२ देखि १५ लाख खाली सिलिन्डर घर तथा बिभिन्न स्थानमा थन्किएका छन् । ती सिलिन्डर पुनभर्न नियमित खपतभन्दा अतिरिक्त ग्यास आवश्यकपर्ने भएकाले तत्काल बजार सामान्य अवस्थामा फर्काउन चुनौती रहेको बताउन थालिएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार सामान्य अवस्थामा देशभर मासिक करिब ४९ हजार ५०० मेट्रिक टन एलपी ग्यास खपत हुन्छ । नेपालमा सञ्चालित ५७ वटा ग्यास उद्योगलाई उनीहरुको बजार हिस्साका आधारमा मासिक कोटा निर्धारण गरिएको छ । उपत्यकामा नेपाल, एभरेष्ट र सगर कम्पनीका ग्यासको वर्चस्व रहेको छ । यीबाहेक अन्य ग्यास कम्पनीहरुसमेत रहेका छन् । उपत्यकाका लागि २२ उद्योगमा ग्यास भरिन्छ र उपत्यकाभित्र १८ वटा उद्योग छन् ।
यी उद्योगमध्ये उपत्यकाभित्र रहेका १८ वटै उद्योगमा अहिले पूर्णरुपमा बुलेटबाट ग्यास भर्ने कार्य बन्द रहेको पाइएको छ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला नेपाल आयल निगम लिमिटेडले सार्वजनिक गरेको ग्यास आपूर्तिसम्बन्धी तथ्यांकमै प्रश्न उठ्न थालेको छ ।