
काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसका देउवा पक्षका नेता नेता डा. शशांक कोइरालाले एक बक्तब्य प्रकाशितगरी आगामी असोज १६ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशन भए पार्टी फुट्ने औपचारिक जानकारी दिनुभएको छ । १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका नाममा एक विज्ञप्ति जारीगर्दै उहाँले गगन थापा पक्षको महाधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया शुरुहुनेभन्दै उहाँले उक्त महाधिवेशनमा सहभागी नहुन आग्रह गर्नुभएको हो । उहाँले बक्तब्यमा भन्नुभएको छ–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी विवादको मुद्धामा पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय–आदेश उपर पुनरावलोकन गरि पाउँभनि निवेदनदिई उक्त मुद्धा शुरुदेखिनै हेर्नेगरी सम्मानित सर्वोच्च अदालतको पूर्णइजलासवाट पुनरावलोकनको अनुमति (निस्सा) पाइसकेको अवस्थामा सो मुद्धा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको सवैलाई अवगतनै छ ।
यो अवस्थामा कथित विशेष महाधिवेशनबाट गठित पक्षले १५ औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकतानै अहिलेको आवश्यकता होभन्ने हाम्रो निष्कर्ष र प्रतिबद्धता रहेको छ । कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रुपले विभाजित रहेको छ । बक्तब्यमा यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन ग¥योभने पार्टीका सबै तहमा संरचनागत रुपमा विभाजनको प्रक्रिया शुरुहुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछभन्ने हाम्रो ठहर छ । तसर्थः तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न÷नगराउन तथा यस्ता कृयाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरु तथा क्रियाशील सदस्यहरुमा हार्दिक अपील गर्दछौं भनिएको छ ।
हिजै नेपाली कांग्रेसका सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको थियो । पार्टीभित्र पछिल्लो समय बढ्दैगएको विवाद र विभाजनको सम्भावनाबीच दुई नेताबीच भेटवार्ता भएको हो । नेता डा. कोइरालालेनै देउवा निवास पुगेर पूर्वसभापति देउवासँग भेट गर्नुभएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, कांग्रेसभित्र देखिएको विवाद तथा पार्टी एकता कायमगर्ने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिनुभएको हो । हिजै देउवाले वारेस मार्फत गगन थापा पक्षको महाधिवेशन रोक्न मागगर्दै सर्बोच्च अदालतमा रिट दायरगर्नु भएको भनिएकोमा अन्तिम समयमा पुन फिर्तागरिएको थियो । सो रिट आगामी सोमबार पुन पेश गरिने बताइएको छ ।