
काठमाडौँ, ६ भदौ । नेपाल–भारत सीमामा खटपट कायमै छभने हालै भारतको देहरादूनमा भएको द्विपक्षीय बैठकमा कडा निगरानीगर्न दुबै पक्ष सहमत भएको खुलाशा भएको छ । प्राप्त समाचारअनुसार नेपाल र भारतबीचको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले सो निर्णय गरेको हो । कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा यही भदौ ४ र ५ गते बसेको भनिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बैठकले दुवैदेशका नागरिकहरुको सीमा पार आवागमनलाई सहज बनाउने, तेस्रो मुलुकका नागरिकको निगरानीमा कड्याइगर्ने, विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको नेपालको गृह मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रका संवेदनशील स्थानहरुमा सीसीटीभीजस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको बताइन्छ ।
त्यसैगरी दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवं पारस्परिक कानूनी सहायताका विषयमा पनि छलफल भएको थियो । नेपाली पक्षले साइबर अपराध र सीमा पार डिजिटल ठगीलगायतका नयाँ सुरक्षा चुनौतीका विषयहरु उठाएको थियो । बैठकमा सन् २०२५ मा नेपालको पोखरामा सम्पन्न १३ औँ बैठकका निर्णयहरुको कार्यान्वयनबारे समीक्षागर्दै सीमा पार अपराध, लागूऔषध, प्रतिबन्धित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोट र हातहतियार तस्करी नियन्त्रणगर्न सम्बद्ध निकायबिच तत्काल सूचना आदान–प्रदान कार्यलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको भनिएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृहमन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको गृहमन्त्रालयकी सहसचिव श्रीमती पौसुमी बासुले गर्नुभएको थियो । भनिन्छ बैठकमा लिपुलेक भन्ज्याङभई हुने भारत–चीन व्यापारका सम्बन्धमा नेपालको चासो र धारणाबारे पनि छलफल भएको थियो । तर त्यसमा भारतीय पक्षको भनाई कस्तो थियो भन्ने खुलेको छैन ।