काठमाडौँ, ६ भदौ । बर्तमान सरकार संसदप्रति जवाफदेही नभएकोभन्दै राष्ट्रियसभाको बैठकमा बिरोध भएको छ । सभाको हिजोको बैठकमा प्रादेशिक विषयमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सार्वभौम सांसदले उठाएका जिज्ञासाको सरकारले उत्तर दिनुपर्ने र जिम्मेवारीबाट पन्छिन नहुने बताउनुभएको थियो । उहाँले संसद्मा सोधिएका प्रश्नहरुको जवाफ दिनका लागि सरकार तयार हुनैपर्दछ । संसद् सार्वभौम जनताबाट निर्वाचित थलो भएकाले हाम्रा प्रश्न जनताकै हुन् भन्नुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लगानीकर्तामा विश्वासको वातावरण कायम नहुँदा अहिले सेयर बजारमा पूँजी पलायन हुने समस्या देखिएको बताउनुभएको थियो ।

उहाँले शेयरबजार बढ्ने समयमा उल्टै ओरालो लाग्नु सोचनीय विषय हो । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण होस् भन्नुभएको थियो । एमालेकी सांसद रुक्मिणी कोइरालाले संविधान जारीभएको १० वर्षभइसक्दा पनि संविधानबमोजिम तीन वर्षभित्र बन्नुपर्ने कानून बन्न नसकेको बताउनु भएको थियो । उहाँले सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन नगर्दा अहिले समस्या देखिरहेको बताउनुभएको थियो । जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले साउन महिनामा मात्र करिब ७० हजार नागरिक वैदेशिक रोजगारीका लागि विदेशिएको उल्लेखगर्दै बाध्यताले वैदेशिक रोजगारमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले विश्वबिद्यालय सुधारको आवश्यकता औँल्याउँदै स्वायत्त विश्वबिद्यालय निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो । उहाँले विश्वबिद्यालयमा हुने नियुक्तिमा मेरिटोक्रेसी कायमगर्दै पारदर्शिता र संस्थागत विश्वसनीयता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले देशभर बाढीपहिरोबाट विस्थापित नागरिकको पुनःस्थापना तथा राहतको व्यवस्थागर्न सरकारसँग माग गर्नुभएको थियो । एमालेकी सांसद रेखाकुमारी झा प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि महत्वपूर्ण अधिकार केन्द्र सरकारमै केन्द्रित रहँदै आएकाले त्यसलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।