काठमाडौं, ६ भदौ । एमालेका अध्यक्ष केपी ओलीले बर्तमान सरकार कुनै हालतमा पनि आगामी पाँच वर्ष नटिक्ने दाबि गर्नुभएको छ । एमाले बागमती प्रदेश जनसम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित उक्त दुई दिने कार्यशालामा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । उहाँले भक्तपुरको नगरकोटमा आजबाट शुरुभएको एमाले बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधनगर्दै उपरोक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले चुनावमा जनतालाई तर्साएर र बाकस साटेर बहुमत देखाइएको आरोप पनि लगाउनु भएको थियो । उहाँले हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर र बाकस साटेर बहुमत ल्याएको देखियो । उहाँले यो सरकार तपाईंहरुलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन । बहुमत आयोभन्दैमा जनताले पाँच वर्ष लुटमारगर्न दिएका होइनन् भन्नुभएको थियो । अध्यक्ष ओलीले रास्वपालाई भोट दिएर बहुमत बनाएकोमा अहिले जनतालाई पश्चात्ताप भइसकेको दाबीसमेत गर्नुभएको थियो । सरकारको स्वेच्छाचारिताविरुद्ध जनता आफैं आन्दोलित हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले पार्टीपंक्तिलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभएको थियो ।

वर्तमान सरकारका कारण मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको बताउँदै उहाँले अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आफूहरु नै गणतन्त्र ल्याउने शक्ति भएकाले कसैसँग नडराउनेभन्दै उहाँले यो कुन शक्तिको आडभरोषामा चलेको छ, हामीलाई मतलब छैन। यी तत्वहरुसँग हामी डराउँदैनौं भन्नुभएको थियो । उहाँले सरकार र उसका समर्थकहरुले सामाजिक सञ्जालमा समेत त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनु भएको थियो । उहाँले सामाजिक सञ्जालको आक्रमणबाट नडराई सत्य, जनता र जनजीविकाको पक्षमा खुलेर आवाज उठाउन उनले नेता तथा कार्यकर्तालाई आग्रह पनि गर्नुभएको थियो ।