काठमाडौँ, ६ भदौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध नरसंहार गरेको अभियोगमा टर्कीले अन्तराष्ट्रिय पक्राउ पूर्जी जारीगरेको थाहाभएको छ । जसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरु रोकेको घटना र नरसंहार को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले त्यहाँका सञ्चार माध्यमहरुलाई जानकारी दिनुभएको छ । टर्की सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट शुरुभएको इजरायलको गाजासँगको युद्धको कडा आलोचक बनेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार नेतन्याहुलाई नरसंहारको आरोप लगाउँदै आउनुभएको छ ।

गत मे महिनामा करिब ४३० मानवीय सहायता अभियानकर्मी बोकेको समूहलाई इजरायलले रोकेको घटनाले अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको थियो । जसबारे फ्रान्स, इटाली र अष्ट्रेलियाले पनि न्यायिक प्रक्रियासमेत शुरुगरेका छन् । टर्कीका न्यायमन्त्री आकिन गुर्लेकले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ–टर्कीको न्याय मन्त्रालयले गृहमन्त्रालयलाई नेतन्याहु र अर्का इजरायली अफेक मोस्कोभिचविरुद्ध इन्टरपोल रेड नोटिस अलर्ट जारीगर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय जलक्षेत्रमा मानवीय सहायताकर्मीमाथि भएको आक्रमणसम्बन्धी न्यायिक कारवाहीको भागका रुपमा र सन् २०२६ जुलाई १४ मा बेन्जामिन नेतन्याहु र अफेक मोस्कोभिचविरुद्ध नरसंहारका लागि जारी गरिएका पक्राउ पूर्जीअनुसार न्याय मन्त्रालयले गृहमन्त्रालयलाई उनीहरुको अन्तर्राष्ट्रिय पक्राउका लागि रेड कर्नर नोटिस जारीगर्न अनुरोध गरेको छ । नेतन्याहु र मोस्कोभिचमाथि मानवताविरुद्धका अपराध, नरसंहार, गम्भीर स्वतन्त्रता हनन, जानीजानी आक्रमण र कुटपिट, यातना, सम्पत्ति विनाश, गम्भीर लुटपाट र यातायात साधन अपहरणका अभियोगमा मुद्दा चलाइएको सो मन्त्रालयले जनाएको छ ।