काठमाडौं,४ कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले आज विजयादशमीको उपलक्षमा एक सन्देश जारीगर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा यस पर्वले असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने बताउनुभएको छ । उहाँले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्तगरेको तथा भगवान् रामले रावणको अन्त्यगरेको दिनकारुपमा विजयादशमी मनाइने स्मरण पनि गर्नुभएको छ । उहाँले विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहणगर्ने परम्पराले सत्कर्मको मार्गमा अघिबढ्न र विजय हाशिलगर्न प्रेरणा प्रदान गर्दछ ।

टाढाढाढा रहेका मान्यजन तथा आफन्त भेटघाटगरी आशीर्वाद लिने यस संस्कृतिले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप प्रगाढ बनाउने धारणा ब्यक्त गर्नुभएको छ । मानिसभित्र रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्तिलाई त्याग्न विजयादशमीले प्रेरितगर्ने उल्लेखगर्दै उहाँले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्यगर्न जोड दिनुभएको छ । प्रत्येक नागरिकलाई राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबैक्षेत्र र नागरिक एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

त्यस्ता विकृति र विसंगति हटाउन इमानदार प्रयास, दृढसंकल्प र सामूहिक मेहनत आवश्यक पर्नेभन्दै उहाँले वास्तविक परिवर्तनका लागि शोचकासाथै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न तथा लामो समयदेखि भेटघाट नभएका साथीभाइ र आफन्तसँग खुसी साटासाटगर्न यो पर्व महत्वपूर्ण रहेको उनले उल्लेख गर्नुभएको छ ।