
काठमाडौं, ५ कात्तिक । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षितगरी गरिएको ड्रोन आक्रमणमा एकजना नेपालीसहित दुईजना विदेशी श्रमिकको मृत्युभएको थाहाभएको छ । सो घटनामा पाकिस्तानी र भारतीय नागरिक समेत घाइते भएका छन् । साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती जारीगर्दै हिजो बुधबार बिहान भएको घटनामा एक नेपाली र एक प्यालेष्टिनी नागरिकको मृत्युभएको जनाएको छ ।
घटनामा मृत्युभएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । सो मन्त्रालयकाअनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षितगरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो । ड्रोन आक्रमणको प्रयासकाक्रममा तेल क्षेत्रमा कामगर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ ।