काठमाडौं, २२ माघ । देशैभर बन्दुकको खोजी र बरामदी जारी रहेको थाहाभएको छ । यसैक्रममा बागलुङमा ठूलो संख्यामा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो । आगामी २१ फागुनमा हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी–शिकारीलाई मध्यनजरगर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठूलो संख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट चारवटा भरुवा बन्दुक बरामद भएको छ । ढोरपाटन सिकार आरक्ष आसपास, बिभिन्न सामुदायिक वनमा चोरी–शिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामासमेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजतपत्र नलिइकन लुकाइछिपाइ राखिएका भरुवा बन्दुक संकलनगरी बरामद गरिएको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो । प्रहरी उपरीक्षक भारतीले हामीले केही समय अगाडिदेखि अवैध हातहतियार संकलन र बरामद गर्ने अभियान चलाएका थियौँ, हाम्रो सबै प्रहरी युनिटबाट खटिएका प्रहरीले यी हातहतियार नियन्त्रणमा लिएका हुन् ।
चुनावलाई लक्षित गरेर लाइसेन्सवाला हतियार पनि प्रहरीमा बुझाउन आग्रह गरेका छौँ भन्नुभएको छ । उहाँका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीयस्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ । इजाजतपत्र नलिइकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । रासस