काठमाडौं, २२ माघ । हिमाली भेकका मतदाताले सदरमुकाममा मतदान गर्नुपर्ने भएको छ । यसैक्रममा दार्चुला जिल्लाको उत्तरीक्षेत्र तिंकर र छाङ्रु क्षेत्रका मतदाताका लागि सदरमुकाम खलंगा नजिकको टिंकरखेडामा भन्ने ठाउँमा मतदानगर्न पाउने व्यवस्था गरिने भएको छ । जाडो छल्न बेँसीमा बसाइँसराइ गरेका सो क्षेत्रका मतदाताका लागि उनीहरु बसेकै ठाउँ तिंकरखेडमा मतदानस्थल र केन्द्रको व्यवस्थागर्न लागिएको निर्वाचन कार्यालयका प्रमुख प्रदीप धामीले जानकारी दिनुभएको छ । धामीले जाडोयाममा परिवारसहित बेँसीतिर झर्नेगरेका सो क्षेत्रका बासिन्दा बैशाख महिना लागेपछि मात्र तिंकर र छाङरु फर्किने गर्छन्, उनीहरु हाल बसेकै ठाउँ महाकाली नगरपालिका–४ खलंगा नजिकको तिंकरखेडामा मतदानस्थल र केन्द्रको व्यवस्थागर्न लागिएको छ भन्नुभयो ।

धामीले तिंकरखेडास्थित व्यास–१ का तिंकर गाउँका मतदाताका लागि मौतिमैला संघ आधारभूत बिद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक बिद्यालय गरी दुई मतदानस्थलको व्यवस्था गरिएको बताउनुभयो । उहाँले प्रतिकूल मौसमको अवस्थामा गरिएको अनुरोधबमोजिम निर्वाचन आयोगले सो क्षेत्रका बासिन्दा बसेकै ठाउँमा मतदानस्थल र केन्द्रको व्यवस्था गर्न सहमति दिएको बताउनु भयो ।

छाङरु गाउँमा ३७५ र तिंकरमा २४४ मतदाता छन् । ब्यास–१ मा आदिवासी सौका समुदायको बसोबास रहेको छ । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ मतदाता छन् । मतदानका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र स्थापनागर्न लागिएको थानहा भएको छ ।