काठमाडौं, २२ माघ ।अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने बताउनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिनुभयो । हिजो म्याग्दीको बेनीमा पुग्नुभएका खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरुसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिनुभयो । अर्थमन्त्री खनालले नयाँ पुराना सबै राजनीतिक दलहरुले सौहार्द र शान्तिपूर्ण तरिकाले चुनावमा भागलिने वातावरण बनाएर सफल बनाउने सरकारको अहिलेको प्रमुख दायित्व हो ।
स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुँदैनभन्ने विश्वास दिलाउँछु भन्नुभएको थियो । उहाँले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्नका लागि संवेदनशील बन्न आग्रह गर्नुभयो । भ्रामक, मिथ्या सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले चुनावका लागि चुनौतीका रुपमा लिएर त्यसको सामनागर्ने रणनीति बनाएको बताउनुभयो । मौसमका कारणले फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसको निर्णय निर्वाचन आयोगले तत्कालै लिने बताउँदै मन्त्री खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलगायत सुरक्षा अधिकारीसँग चुनावको तयारीका विषयमा जानकारी लिनुभयो । हालसम्म शान्ति र सौहार्दपूर्ण रुपमा चुनावको तयारी अघिबढेको उहाँहरुले जानकारी दिनुभयो । जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले अस्थायी मतदाता र चुनावमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको जानकारी दिनुभएको थियो ।