काठमाडौं, २२ माघ । आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा एमालेका अध्यक्ष केपी ओली देशैभर सर्वाधिक चर्चामा रहनुभएको छभने सो पार्टीले उहाँलाई भावी प्रधानमन्त्रीका लागि प्रस्ताव पनि गरेको छ । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा हिजो आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले मुलुकको रक्षा तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्तावसहित पार्टी चुनावमा होमिएको बताउनुभएको थियो । उहाँले देश बनाउनेहरुलाई जिताउनुपर्ने खाँचो रहेको उल्लेखगर्दै नेपालको आर्थिक वृद्धि भइरहेको, समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा अनेक पक्षहरु हावी भएर अघिल्लो सरकारलाई विस्थापन गर्ने स्थिति भएकाले जनताले यस कुरालाई मननगर्र्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उहाँले सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको मुद्धाबारे चाँडै फैसला दिनुपर्नेमा पनि जोड दिनुभएको थियो । यसैबीच अध्यक्ष ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिनुभएको छ । पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान आग्रह गर्नुभएको हो । उहाँले तपाईंहरु बिभिन्न पेशा व्यवसाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ । समय निकालेर निर्वाचन क्षेत्र जानुहोस् । पार्टीको पक्षमा माहोल बनाउनुहोस् । आफन्त भेट्नुहोस । साथीभाइसँग बस्नुहोस । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरु चिर्नुहोस् भन्नुभएको थियो । अध्यक्ष ओलीले जहाजमा यात्रीकारुपमा व्यक्तिले जहाज चलाउँछुभन्ने कुरा असान्दर्भिकमात्र होइन जोखिमपूर्ण पनि हुने टिप्पणी गर्नुभएको थियो । बिभिन्न व्यक्तिहरुले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारभन्दै प्रचार गरेकोप्रति व्यंग्यगर्दै अध्यक्ष ओलीले अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरुबाट यस्तो कुरा सम्भव नहुने दाबि पनि गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीले हिमालमा हिउँ प¥यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनेँ । यो कुनै हालतमा पनि स्वीकार्य हुँदैन ।
पोहोर हिउँदभन्दा अघि जन्मेको बच्चालाई हिउँदमा हिउँ पर्छभन्ने कुरा थाहा हुन्छ । अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिउँदा चिसोले निर्वाचन हुँदैन भन्ने कुरा ? भन्ने प्रश्न पनि गर्नुभएको थियो । अध्यक्ष ओलीले निर्वाचनको तयारी निष्पक्ष, मतदान बिना डर त्रास र प्रलोभनमा हुनुपर्दछ । मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधिको अनदेखा हुनुहुँदैन । त्यसमा सबै चनाखो हुनुहोस् पनि भन्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नि खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गर्नुभएको थियो ।