
काठमाडौं,२४ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा हानिकारक सूचना उत्पादन एवं सम्प्रेषणगर्ने १८१ वटा कन्टेन्ट उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन–०६३ बमोजिम कारवाहीका लागि नेपाल प्रहरीको साइवर ब्यूरोमा पठाएको छ । आयोगले हिजो आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सातवटालाई दूरसञ्चार प्राधिकरण ऐन–०५२ बमोजिम कारवाहीगर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको थियो ।
त्यसैगरी ४० वटालाई प्रेस काउन्सिल ऐन–०४८ बमोजिम कारवाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ४७ वटालाई निर्वाचन आचारसंहिता–०८२ बमोजिम कारवाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीगर्न र गैरकानूनी कार्यगर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्णरुपमा क्रियाशील रहेको पनि उहाँले बताउनु भएको थियो । रासस