काठमाडौं,२४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा साम्राज्यवादका मतियारहरुको बिगबिगी बढेको खुलाशा गर्नुभएको छ । उहाँले हिजो राष्ट्रिय जनमोर्चा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दा उपरोक्त खुलाशा गर्नुभएको हो । कार्यक्रमको उद्घाटन मन्तव्यदिंदै अध्यक्ष केसीले राजा महेन्द्र र वीरेन्द्रले निष्कासित गरेको व्यक्ति बारबरालाई नागरिकता दिने काम काँग्रेस र तत्कालीन माओवादीले गरेको बताउनु भएको थियो । उहाँले आज उनै बारबराको नाममा खोलिएको बारबरा फाउण्डेशनले नेपालको राज्यसत्ता चलाउने काम गरिरहेको छ भन्नुभयो । केसीले आगामी फागुन २१ मा हुने चुनावमा बारबरा फाउण्डेशनका कैयौँ व्यक्तिहरु रास्वपा र काँग्रेसबाट उम्मेदवार बनेका छन् भन्नुभयो ।
केसीले विदेशी शक्तिबाट सञ्चालिन फाउण्डेशनका सदस्यहरुले यो देशको भविष्य कतातीर लैजाँदै छन्भन्ने आजैदेखि नेपाली जनता सजग हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता सिद्धार्थनगर नगर समितिका अध्यक्ष हिरालाल धामीले गर्नुभएको थियोभने सञ्चालन नगर सचिव सगिर आलमले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई कृष्णबहादुर कुँवरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी संघबाट दुर्गानाथ खरेल, नेपाल कम्युनिष्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता लालचन्द पन्थ, अखिल नेपाल किसान संघका शिवराम घिमिरे, क्षेत्र नम्बर ३ का उम्मेद्वार बद्रे आलम, क्षेत्र नम्बर २ का उम्मेद्वार रुकबहादुर पराजुली लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
त्यस्तै समानुपातिक उम्मेद्वार सगिर आलम, राम किसुन बानिया, घनश्याम कहाँर, राजकुमार गुप्ता, भुवन भाष्कर तेली, जावेद आलम, मञ्जु गुप्ता, बविता गुप्ता, रेहाना खातुन, सुनकेसी कुमारी कुर्मी लगायतले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो । भेलाले आज माघ २४ गतेदेखि घरदैलो कार्यक्रम सम्पन्न पार्ने र फागुन चार गतेदेखि विभिन्न स्थानमा खुल्ला सभाहरु सम्पन्न पार्ने निर्णय गरेको बताइएको छ ।