जेनेभा, २४ माघ । चीनले गोप्य आणविक बिष्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको वाशिंटनले आरोप लगाएको छ । अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लंघन भनेको छ । जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले चीनले बिष्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षणगर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टिगर्न सक्छु भन्नुभएको थियो । उहाँले चीनले सन् २०२० को जुन २२ मा यस्तै उत्पादन विकासगर्ने आणविक परीक्षण गरेको थियो भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्षको अन्त्यतिर पनि यस्तै आरोप लगाउनुभएको थियो । राष्ट्रपति ट्रम्पले अक्टोबर ३१ मा वाशिंटनले मस्को र बेइजिङसँग समान आधारमा आणविक परीक्षण शुरुगर्ने बताउनुभएको थियो ।
डिनान्नोले चीनको पिपुल्स लिबरेसन आर्मीले ‘आणविक बिष्फोटलाई ओझेलमा पारेर परीक्षण लुकाउन खोजेको छ किनकि यी परीक्षणहरुले परीक्षण प्रतिबन्ध प्रतिबद्धताहरुको उल्लंघन गरेको पुष्टि गरेका छन् भन्नुभयो । उहाँले चीनले ‘डिकपलिङ (भूकम्पीय अनुगमनको प्रभावकारिता घटाउने विधि) प्रयोग गरेर आफ्ना गतिविधि संसारबाट लुकाउन प्रयोग गरेको आरोप लगाउनुभएको थियो । शीर्ष आणविक शक्ति राष्ट्रहरु अमेरिका र रुसबीचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्नका लागि रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वानगर्ने नयाँ अमेरिकी योजना प्रस्तुत गरिरहेका बेला डिनान्नोको यो टिप्पणी आएको हो । चीनले यसअघि नै निशस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ । रासस,एएफपी