काठमाडौं, ५ वैशाख । अहिले बर्ड फ्लुको जोखिम छ । तर, बाँकेको जमुनाह नाकाबाट अवैधरुपमा भारतीय कुखुरा ल्याउनेक्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट हिजो १०८ किलोग्रामका ३६ थान तयारी अवस्थामा रहेका कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३६ थान अवैध कुखुरा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरु प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताउनुभयो । साइकल वा मोटरसाइकलमा अवैधरुपमा कुखुरा ल्याउने गरिएको बताउँदै उहाँले प्रहरी देख्ने बित्तिकै ती व्यक्ति भाग्ने गरेकाले पक्राउगर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो ।
पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्जका प्रमुख डा हरेराम यादवले बर्ड फ्लुको जोखिम हुँदाहुँदै पनि अवैध रुपमा भारतीय कुखुरा नेपालगञ्ज भित्र्याउने कार्य बन्द हुननसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले हामीले दैनिकजसो समातिरहेका छौँ । तर कसरी भित्रिरहेको छ, आश्चर्य लाग्छ भन्नुभयो । खुला सीमानाका र व्यापारीमा सचेतनाको कमीका कारण अवैध कुखुरा नेपालगञ्ज ल्याइएको उल्लेखगर्दै डा यादवले अहिलेसम्म ३५ हजार तयारी कुखुरा नष्टगरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा ६० हजार भारतीय अवैध चल्ला र ४०० किलो कुखुराको तयारी मासु र अण्डा नष्ट गरिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरीको सहयोगमा पक्राउ गरिएका सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गरिएका पशु क्वारेन्टाइन नेपालगञ्जले जनाएको छ । तराईका केही जिल्लामा बर्ड फ्लुको जोखिम बढ्दै गएपनि हालसम्म यस क्षेत्रमा संक्रमण नदेखिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा यादवले जानकारी दिनुभएको छ । रासस